Logo
Logo

भ्रष्टाचारको उच्च जोखिमयुक्त क्षेत्रमा अख्तियारको बिशेष निगरानी


3.8k
Shares


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले भ्रष्टाचारको दृष्टिले उच्च जोखिमयुक्त क्षेत्रमा क्षेत्रमा आयोगले बिशेष निगरानी बढाएको बताएका छन् । भ्रष्टाचारविरुद्धको २० औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोगमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले जोखिममा आधारित अनुसन्धान पद्धति कार्यान्वयन गरिएको बताए ।


भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको नेपाल पक्ष राष्ट्र बनिसकेको सन्दर्भमा यसबाट सिर्जित दायित्व, चुनौती र जिम्मेवारी निर्वाह गर्न विद्यमान कानून, नीति र संरचनामा समयानुकुल सुधार र परिमार्जन गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन् । भ्रष्टाचार विरुद्धका राष्ट्रिय कानून, नीति र रणनीतिको तर्जुमा र प्रभावकारी कार्यान्वयनका लागि भ्रष्टाचार विरुद्ध कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुको समन्वयात्मक प्रयत्न हुन जरुरी रहेको प्रमुख आयुक्त राईको भनाई छ ।


नेपालको संविधानले आयोगलाई प्रदान गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न “भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माण” गर्ने दूरदृष्टि सहितको उपचारात्मक, निरोधात्मक, प्रवर्द्धनात्मक र संस्थागत क्षमता विकासको चारखम्बे रणनीति अवलम्बन गरिएको उनले बताए । साथै, भ्रष्टाचारयुक्त कार्यको अनुसन्धान र अभियोजनलाई अझ बढी प्रभावकारी बनाउदै जाने क्रममा सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै जाने नीति अख्तियार गरिएको उनले बताए ।


भ्रष्टाचार नियन्त्रण तथा सदाचार प्रवर्द्धन गरी सुशासन कायम गर्ने राज्यको नीतिलाई व्यवहारमा रूपान्तरण गर्न र तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज, संचार जगत् एवम् आम नागरिक समुदाय सबैसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने विश्वास र दृढताका साथ सम्पूर्ण सरोकारवालाबाट निरन्तर सहयोग र सहकार्यका लागि उनले आव्हान गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्