Logo
Logo
कला

‘पहिलो गीतले नै मलाई संगीत क्षेत्रमा चिनायो’


1.6k
Shares

लोकदोहोरी क्षेत्रकी चर्चित गायिका हुन्, सरिता कार्की । गोरखा पालुङटारकी सरिता, जो पहिलो गीतबाटै चर्चामा आउन सफल भएकी थिइन् । गायनप्रतिको रहर र रुचीका कारण २०६३ सालतिर दोहोरी साँझमा गाउन सुरु गरेकी सरिताले ०६८ सालमा ‘कति रुनु छ र’ बोलको लोकदोहोरी गाइन् । जुन गीतमार्फत लोकदोहोरी क्षेत्रमा चिनिएकी सरिताले त्यहीले गीतबाट ‘उत्कृष्ट नव लोकदोहोरी गायिका’को अवार्डसमेत पाइन् ।

हालसम्म सरिताले ६० भन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । करिब तीन वर्ष ‘सुनखानी दोहोरी साँझ’ समेत सचालन गरेकी सरिताको पछिल्लो गीत ‘सान्नानी’ पनि अत्याधिक रुचाइएको छ । देशका विभिन्न सहरका आलवा कतार, जापानलगायत युरोपका दर्जन मुलुकमा सांगीतिक प्रस्तुती दिइसकेकी गायिका सरिता भन्छिन्- म आफ्नो गायन पेसाबाट खुसी र सन्तुष्ट छु । गायिका सरिता कार्कीसँग दृष्टिको जम्काभेट :

हिजोआज के गर्दै हुनुहुन्छ ?
गायनमै व्यस्त छु । गीतसंगीतबाहेक मेरो व्यवसायी पनि छ । गीतसंगीतबाट फुर्सद भएका बेला आफ्नो व्यवसायीलाई समय दिने गरेकी छु ।

के व्यवसायी हो ?
मेरो जडीबुटीमा कस्मेटिक र फेन्सी पसल छ । फुर्सद भएका बेला म यही हुन्छु ।

गीतसंगीत क्षेत्रमा लाग्नुभएको कति भयो ?
२०६२/०६३ सालतिरै म गायनमा लागेकी हुँ । खाशमा म दोहोरी साँझ हुँदै व्यवसायी गायनमा लागेकी हुँ । २०६८ सालमा आएर मैले पहिलोपटक ‘कति रुनु छ र’ बोलको गीत रेकर्ड गरेकी थिएँ । त्यस यता निरन्तर यही क्षेत्रमा छु ।

त्यो बेला कसरी गायनप्रति प्रभावित हुनुभयो ?
सानैदेखि गाउन रुचाउँथे । पुजाआजा होस् वा गाउँघरमा हुने कार्यक्रमहरुमा गाउँदै आएकी थिएँ । त्यतिबेलै एक दिन गायिका हुन्छु भनेर भन्ने सोचेकी थिएँ । अहिले आफ्नो रुची र इच्छा पूरा गरेकी छु ।

काठमाडौं गायिका बन्नकै लागि आउनुभएको हो ?
म २०६४ सालमा काठमाडौं आएकी हुँ । त्यो बेला मनमा गायिका नै बन्छु भन्ने सोचेकी थिएँ । तर, भनेजस्तो सजिलो थिएन । त्यसैले दोहोरी साँझमा गाउन थालेँ । ठमेलको पोखरा दोहोरी साँझमा गाउँथे । त्यो दोहोरी साँझ अहिले पनि छ ।

दोहोरी साँझमा गाउँदै गर्दा एल्बम निकाल्ने अवसर कसरी मिल्यो ?
पोखरा दोहोरी साँझमा शिव हमालसँगै काम गर्दथ्यौँ । त्यो बेला उहाँ लोकदोहोरी क्षेत्रमा चर्चित हुनुहुन्थ्यो । उहाँकै साथ र सहयोगले ‘कति रुनु छ र’ बोलको गीत रेकर्डिङ गरेँ । गीत हिट पनि भयो । त्यही गीतबाट उत्कृष्ट नव लोकदोहोरी गायिकाको अवार्ड पनि पाएँ ।

पहिलो गीतबाटै अवार्ड ?
हो, त्यो बेला सिरआबिटीको चलन थियो । सिआरबिटीमा समेत मेरो गीत त्यो बेला एक नम्बरमा परेको थियो । यस आधारले म साँच्चिकी भाग्यमानी नै भए ।

अहिलेसम्म कति गीत गाउनुभयो ?
आफ्नै लगानीमा दुई दर्जन जति गाएकी छु । अरुको कलेक्शन र सिंगल ट्रयाक गरी ६० भन्दा बढी भयो होला । अहिले पनि गाइरहेकी छु । पछिल्लो समय कति गाएँ भनेर गन्न छाडेकी छु ।

तपाइँलाई दर्शक/श्रोतामाझ चिनाउने गीत कुन हो ?
मलाई आफ्ना सबै गीत राम्रो लाग्छ । तैपनि पहिलोपटक लोकदोहोरी क्षेत्रमा सरिता कार्की पनि आइन् है भनेर चिनाउने गीतचाहिँ ‘कति रुनु छ र’ नै । त्यसपछि त मेरो प्राय गीतहरु श्रोता/दर्शकले रुचाएका नै छन् । मेरो पछिल्लो गीत ‘सान्नानी’ पनि अत्याधिक रुचाइएको छ । यो गीत युट्युबमा एक करोड बढीले हेरिसकेका छन् ।

हिजोआज दोहोरी साँझमा गाउनु हुन्छ कि हुन्न ?
गाउँदिन । दोहोरीमा गाउन छाडेको पाँच वर्ष भयो । दोहोरीमा गाउन छाडेपछि आफैँले पनि तीन वर्ष जति दोहोरी साँझ चलाए । तर, अहिले त्यो पनि छाडिसकेँ ।

तपाइँ दोहोरीमात्र गाउने कि अरु पनि ?
म विशेषगरी दोहोरी नै गाउँछु । सुरुबाटै लोकदोहोरीबाट इम्प्रेस भएर गायनमा लागेकी हुँ । अहिलेसम्म दोहोरी गीतमै मेरो एम्प्रेस छ । हुन त एउटा फिल्ममा पनि गाएकी छु । तैपनि आफूलाई लोकदोहोरी गायिका नै भन्न रुचाउँछु ।

अब तपाइँको नयाँ गीत कहिले आउँछ ?
तत्काल आउँदैन । पछिल्लो मेरो गीत ‘सान्नानी’ अहिले चर्चामै छ । त्यसैले अब एक÷दुई महिनापछि मात्र गीत ल्याउने सोच बनाएकी छु ।

आफैँले राजेको पेसाबाट कतिको खुसी हुनुहुन्छ ?
खुसी नै छु । नाम र दाम मिलेको छ । देशविदेश घुम्न पाएकी छु । दर्शक/श्रोताको माया र हौसला पनि पाएकी छु । मेरो लागि यही नै खुसीको कुरा हो ।

प्रतिक्रिया दिनुहोस्