विराटनगर । राष्ट्रिय परिचयपत्रका लागि मोरङमा दुई लाख ९० हजार जनाको विवरण सङ्कलन गरिएको छ । गत कात्तिकदेखि यहाँका एक महानगरसहित १७ पालिकामा विवरण सङ्कलन गर्न सुरु गरिएको थियो ।
बेलबारी, सुन्दरहरैंचा, बुढीगङ्गा र विराटनगर महानगरपालिकाबाहेक सबै पालिकामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने काम सम्पन्न भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार देशभरका ३५ जिल्लाका ९६ लाखको विवरण सङ्कलन भइसकेको छ ।
प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कार्यालयमा दैनिक सात सय मानिसलाई राहदानी, सिफारिस, नागरिकता तथा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको जानकारी दिए ।