Logo
Logo

जाजरकोट दुर्घटना अपडेट : एकै घरका ५ सहित जीपमा सवार सबैकाे मृत्यु


2k
Shares

जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका– ५ भिरपाटीमा सोमबार दिउँसो भएको दुर्घटनामा जिपमा सवार सबै जनाको मृत्यु भएको छ । जिपमा एकै घरको ५ जनासहित १२ सवार थिए ।

बिहेघरका बिरामी लिएर स्वास्थ्यचौकी जाँदै गरेको कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जिप मध्यपहाडी सडकखण्डअन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका ४ र ५ को बीचमा पर्ने भिरपाटीबाट अनियन्त्रित भई दुई सय मिटर तल खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव श्रेष्ठले बताए ।

घटनास्थलमै ९ जनाको र उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमा तीनजनाको ज्यान गएको हो । छेडागाड नगरपालिकाका सूचना अधिकारी देवबहादुर बुढाका अनुसार मृत्यु भएका पाँचजना एकै परिवारका हुन् ।

छेडागाड– ५ का जयलाल अधिकारी, साहिँलो भाइ दीपक, दीपककी श्रीमती नैसरा, उनीहरूकी दुई वर्षकी छोरी निशा र जयलालका कान्छा भाइ अम्मरबहादुर छन् । यस्तै, छेडागाड- ५ कै देवीसरा बुढा र जयकुमार बुढा तथा छेडागाड- ६ का वीरबहादुर खत्री र रामबहादुर बुढाको मृत्यु भएको छ । दुर्घटनामादैलेखको भगवतीमाई गाउँपालिका- २ घर भएका सवारीचालक मानबहादुर रावत, भगवतीमाई– ३ का सुरेन्द्र केसी र अम्मरबहादुर खड्काको पनि ज्यान गएको छ ।

जिप आइतबार दैलेखबाट जन्ती लिएर छेडागाड गएको थियो । विवाह घरमै रहेको जिप दिउँसो एक्कासि बिरामी परेका एकजना लिएर छेडागाड-६ स्थित स्वास्थ्यचौकीतर्फ गएको थियो । केही तल पुगेपछि बिहे भतेर खाएर फर्किएका नौजना सोही जिपमा चढेका थिए । त्यहाँबाट अघि बढेको जिप करिब तीन सय मिटर अघि मध्यपहाडी लोकमार्गमा पुगेपछि एक्कासि सडकबाट तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्