काठमाडौं । उपत्यकामा भएका दुई दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
सोमबार महानगरपालिका–१४ कुलेश्वरमा बा.२ ख ३२२३ नम्बरको माइक्रो बस र बा.९१ प ७४८० नम्बरको मोटरसाइकल एक–आपसमा ठोकिएर सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक नागार्जुन नगरपालिका–४ घर भएका २२ वर्षीय रविन लामाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । माइक्रो बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, ललितपुर, ललितपुर महानगरपालिका–१७ बिएण्डबि आकासे पुल नजिक सडकमा बा.१६ प १२२८ नम्बरको मोटरसाइकल बा.२ क १३२५ नम्बरको टिपरमा ठोकिएर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर सूर्यबिनायक नगरपालिका–२ बालकोट बस्ने ६० वर्षीय योगराज सुबेदीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पछिल्लो समय उपत्यकामा दुर्घटना बढेको छ । दुर्घटनामा मृत्यु हुनेमा धेरै जसो मोटरसाइकलका चालक तथा यात्रु छन् । धेरै दुर्घटना तिव्र गति र लापरबाहीका कारण हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।