Logo
Logo

अखिल क्रान्तिकारीमा विवाद : पञ्चा सिंह नेतृत्वको कमिटी खारेज गर्न मातृ पार्टीसँग माग


3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा विवाद बढेको छ । संगठनका केन्द्रीय अध्यक्ष पञ्चा सिंहले कलेज सम्बन्धनमा ‘बार्गेनिङ’ गरेको आरोप लागेसँगै विवाद बढेको हो ।

संगठनको २२औं महाधिवेशनबाट नेतृत्व चयन गर्न नसकेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षमा सिंहलाई चयन गरेका थिए ।

अखिल क्रान्तिकारीका उपाध्यक्षहरु इन्द्र भुसाल र नारायण खनालले संगठनको नामबाट सीटीईभीटी र पोखरा विश्वविद्यालयको सम्बन्धन वितरणमा पैसाको ‘बार्गेनिङ’ भएको खुलासा गर्दै आर्थिक गतिविधिबाट सचेत रहन आग्रह गरेका छन् ।

उपाध्यक्ष भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सीटीईभीटी र पोखरा विश्वविद्यालयलगायत ठाउँमा हाम्रो संगठनको नाममा आधिकारिक रुपमा आर्थिक बार्गेनिङ गरिरहेको जानकारी प्राप्त भएको थियो । आर्थिक चलखेलमार्फत् गर्न खोजेको सम्बद्धताको सन्दर्भमा हामी र हाम्रो संगठन चुप लागेर नबस्ने कुरा सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छु ।’

त्यस्तै, अर्का उपाध्यक्ष खनालले पनि संगठनलाई बदनाम नगर्न पटक–पटक ध्यानाकर्षण गर्दासमेत अटेर गरेपछि बाहिर ल्याउन बाध्य भएको उल्लेख गरेका छन् ।

यसैबीच अखिल क्रान्तिकारीको समानान्तर केन्द्रीय कमिटी चलाउँदै आएका पवन कार्कीको नेतृत्वले अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनयताको विवाद समयमै समाधान हुन नसक्दा आफैंमा गन्जागोलभित्र रुमलिएको बताएका छन् ।

संयोजक कार्कीले बुधबार विज्ञप्ति जारी गर्दै पञ्चा सिंहले नेतृत्व गरेको संगठन अखिल क्रान्तिकारी अवैध भएको समेत बताएका छन् । ‘हामीले वास्तविक विद्यार्थीहरुको अखिल क्रान्तिकारी निर्माण गर्ने संकल्पसहित पञ्चा सिंह नेतृत्वको केन्द्रीय समितिलाई अवैध घोषणा गरी गत असार १८ गते क्रान्तिकारी संगठनको पुनर्गठन गरेर अगाडि बढेको यहाँहरु सबैलाई अवगत नै छ’ कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै, विद्यार्थी आन्दोलनलाई समग्र शैक्षिक क्षेत्रको रुपान्तरणका लागि केन्द्रित गरी निष्कर्षविहीन सम्झौताबाट मुक्त गर्ने अठोटका साथ अगाडि बढेको उनको भनाइ छ ।

पञ्चा सिंहले नेतृत्व गरेको अवैध संगठनले अखिल क्रान्तिकारीका नाममा संगठनलाई अस्तव्यस्त बनाएर शैक्षिक माफियासँग मिलेमतो गरी विश्वविद्यालयका पदाधिकारीहरुसँग नयाँ कार्यक्रमहरुको सम्बन्धन र कार्यक्रम विस्तारका नाममा आर्थिक भागबन्डा गरेको समेत उनले आरोप लगाउँदै संगठनको नाममा बार्गेनिङ स्वीकार्य नहुने बताएका छन् ।

विज्ञप्तिमा भनेका छन्, ‘समग्र शैक्षिक क्षेत्रको भविष्य धराशायी बनाउने कार्यमा संलग्न जो कोही संगठनका नेता वा विश्वविद्यालयका पदाधिकारीहरु शैक्षिक माफियाहरुका दलाल हुन् । यस्ता कार्यमा संग्लनहरुलाई तत्काल छानबिन गरी कारबाही गर्न सम्बन्धित सबै सरोकारवाला निकायसँग र कमरेड पञ्चा सिंह नेतृत्वको अवैधानिक कमिटी खारेज गर्न मातृ पार्टी नेकपा माओवादी केन्द्रसँग माग गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्