Logo
Logo

आफुलाई प्रधानमन्त्री बनाउन देउवासमक्ष प्रचण्डको प्रस्ताव


11.3k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेका हुन् ।

भेटमा प्रचण्डले आफुलाई प्रधानमन्त्री बनाउन देउवासमक्ष औपचारिक प्रस्ताव राखेका हुन् । अध्यक्ष प्रचण्डले गठबन्धन नेतृत्व सरकारको कार्यकाल सफल रहेको भन्दै अब बन्ने नयाँ सरकारको नेतृत्वका लागि सहयोग गर्न आग्रह गरेको स्रोतले जानकारी दियो ।

यसअघि विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्रीमा आफ्नो दावी रहेको बताएका प्रचण्डले आज भने देउवासमक्ष पहिलोपटक औपचारिक प्रस्ताव राखेका हुन् । जवाफमा देउवाले गठबन्धन दलबीच छलफल गर्ने बताएको स्रोतले जनाएको छ । यता प्रधानमन्त्री देउवा स्वयम् आगामी पाँच वर्ष प्रधानमन्त्रीको नेतृत्व गर्ने दाउमा छन् ।

पछिल्ला केही दिनयता माओवादी केन्द्रका नेताहरुले सरकारको नेतृत्व प्रचण्डले गर्नु पर्ने हेतुले नेकपा एमालेसँग पनि वार्ता गरिरहेका छन् । प्रचण्डले पनि पार्टीमा यस विषयमा छलफल गरिरहेका छन् । उनले शनिबार विहान मात्रै पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए ।

त्यसपछि उनी देउवा भएको ठाउँमा यही विषय लिएर पुगेका थिए । पार्टीका नेताहरुसँग पछिल्लो छलफलपछि प्रचण्ड गठबन्धन छाडेर नेकपा एमालेसँग मिलेर भए पनि प्रधानमन्त्री बन्ने तयारीमा जुटेका छन् ।

उनले केही दिनअघि सरकार गठनमा सहकार्य हुनसक्ने भन्दै आफ्नो सन्देश लिएर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्टीका महासचिव देव गुरुङलाई समेत पठाएका थिए । बालकोट पुगेर गुरुङले ओलीसँग २ घन्टा लामो छलफल गरेका थिए ।

प्रचण्डले आफू प्रधानमन्त्री बन्नका लागि पछिल्लो समय स्वतन्त्र र अन्य दलका नेताहरुसँगको छलफल र भेटघाट पनि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्