Logo
Logo

नगरलाई दिगो र हरित विकासको अवधारणाबाट अघि बढाउनुपर्ने खाँचो छ : प्रधानमन्त्री


819
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका ठूला साना सबै नगरलाई दिगो र हरित विकासको अवधारणाबाट अघि बढाउनुपर्ने खाँचो औँल्याएका छन् ।

नेपाल नगरपालिका सङ्घको आठौँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहमा आज उनले अधिकांश नगरपालिका अव्यवस्थित सहरीकरणबाट गुज्रिरहेका उल्लेख गर्दै सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री देउवाले यसले एकातिर नगरको प्राकृतिक सौन्दर्य र मौलिकतामा आघात पुगिरहेको र अर्काेतिर सहरहरू दिनानुदिन असुरक्षित र अस्वच्छ आवास क्षेत्रको रूपमा परिणत भइरहेको बताए ।

उनले भने, ‘अब राजधानी सहर काठमाडौँदेखि मुलुकका ठूला साना सबै नगरलाई दिगो र हरित विकासको अवधारणाबाट अघि बढाउनुपर्ने खाँचो छ । साथै, सहरलाई आर्थिक विकासको केन्द्रको रूपमासमेत विकास गर्नुपर्ने खाँचो छ । यस कार्यमा सहयोगी भूमिका निर्वाह गर्न म नेपाल नगरपालिका सङ्घलाई आग्रह गर्न चाहन्छु ।’

विसं २०५० मा सम्पूर्ण नगरपालिकाको प्रतिनिधिमूलक संस्थाको रूपमा स्थापित सङ्घले स्थापनाकालदेखि नगरपालिकालाई अधिकार सम्पन्न बनाउन र सशक्त जनप्रतिनिधिमूलक निकायको रूपमा विकास गर्न महत्वपूर्ण योगदान गर्दै आइरहेको छ ।
सङ्घले नगरपालिकालाई पर्याप्त कानुनी अधिकार सुनिश्चित गर्नदेखि नगरपालिकाको व्यवस्थित विकास र क्षमता अभिवृद्धिका क्षेत्रमा समेत एउटा जीवन्त संस्थाकोरूपमा कार्य गर्दै आएको उनले बताए ।

प्रधानमन्त्री देउवाले मुलुकमा तीन तहको सङ्घीय शासन प्रणाली लागू भएसँगै संविधानले स्थानीय तह खासगरी नगरपालिकालाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको बताए ।

‘स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला र जनताको घरआँगनको सरकार भएकोले नगरपालिका तथा गाउँपालिकाले आफ्नो कामकारबाहीलाई समयको गतिसँगै थप चुस्त, पारदर्शी र सूचना प्रविधियुक्त बनाउँदै जिम्मेवारी बोधका साथ अघि बढ्न आवश्यक छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्