Logo
Logo

माधव संसदीय दलको नेता, राजेन्द्र उपनेता


12.5k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल संसदीय दलको नेतामा निर्विरोध चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले नेपाललाई नेता चयन गरेको हो ।

उपनेतामा राजेन्द्र पाण्डे र प्रमुख सचेतकमा प्रकाश ज्वाला चयन भएका छन् । पाण्डे उपाध्यक्ष र ज्वाला उपमहासचिव हुन् । प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० सांसद छन् ।

यसअघि सोमबार आयोजित नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा नेपालले चुनावी मतपरिणामलाई लिएर मन सानो गर्नुपर्ने कारण नभएको बताएका छन् ।

प्रतिनिधि सभामा १० र प्रदेश सभा १४ सांसद निर्वाचित भएको भन्दै नेपालले उच्च मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिए । थोरै क्षेत्रमा उम्मेदवार उठेका कारण थोरै जित हात पर्नु स्वाभाविक भएको उनको भनाइ छ ।

उनले भने, ‘हामीले प्रतिनिधि सभामा जम्मा २० जना उम्मेदवार खडा गरेका थियौँ । त्यसको ५० प्रतिशत सफलता हामीले प्राप्त गरेका छौँ । योभन्दा बढी सफलताको अपेक्षा गरेका थियौँ । किन, अपेक्षित परिणाम आएन भन्ने समीक्षा गरेर आगामी दिनमा अगाडि बढ्नुपर्छ ।’ एकीकृत समाजवादीका प्रतिनिधि सभामा १० र प्रदेशमा २४ सांसद छन् ।

नेपालले दृढ अठोटका साथ अगाडि बढेकाले कमजोरी महसुस गर्नुपर्ने अवस्था नभएको जिकिर गरे । उनले भने, ‘हामीले बिराएका छौं भने कमजोरी महसुस गर्ने हो, बिराएकै छैनौँ भने किन पछाडि फर्किएर हेर्ने ।’

नेपालले एमालेका नफर्कने स्पष्ट पारे । ‘धूलिसात भएर कम्युनिष्ट आन्दोलन विसर्जन भइरहेको देख्दादेख्दै, विदेशीका सामु लम्पसार पर्न थालेको देख्दादेख्दै पनि कम्युनिष्ट पार्टीले क्रान्तिकारी स्थान गुमाउँदा गुमाउँदै त्यसैमा टाँसिरहने कुरालाई कसैले प्रेरित गर्न खोज्छ भने फेरि पनि त्यस्तालाई सरी भन्छौं ।’

दृढताको साथ त्यस्ता प्रवृतिबाट देशलाई जोगाएको उनको दाबी छ । उनले कम्युनिष्ट पार्टीहरूको वस्तुनिष्ठ समीक्षा गर्न तयार हुनुपर्नेसमेत बताए । उठेका प्रश्नको जवाफ दिन आफुहरु तयार रहेको उनको भनाइ छ ।
उनले भने, ‘कम्युनिष्टले पाएको मौकाको उपयोग गर्न सकेनन् । पाएको हैसियतलाई कायम राख्न सकेनन् । किन ओरालो लागे ? किन विभाजनको स्थिति पैदा भयो ? यसको वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ । हामी समीक्षा गर्न तयार छौं । यस्ता खालको प्रश्नहरुको जवाफ दिन पनि तयार छौं ।’

कार्यक्रममा सम्मानित नेता झलनाथ खनालले वामपन्थी सरकार बन्ने कुरा उठेपनि आधार तयार नभएको बताए । अहिले वाम–लोकतान्त्रिक शक्तिहरूको सरकार बन्ने सम्भावना नै सबैभन्दा बढी रहेको खनालको भनाइ छ । ‘अहिले हंग पार्लियामेन्ट छ । कुनै पनि पार्टीको बहुमत छैन । जनताले कुनै पनि ठूला पार्टीलाई पत्याएनन् । मिलेर काम गर भन्ने म्याण्डेट दिए । एक आपसमा सहमतिका साथ सरकार बनाउने दिशामा अगाडि बढ्नुपर्छ ।’

खनालले थोरै सांसद भए पनि एकीकृत समाजवादी धारिलो र लक्ष्यगत ढंगले अगाडि बढ्नुपर्ने बताए । नीति र कार्यक्रमको आधारमा सरकारमा जानुपर्ने उनको भनाइ छ ।

‘संख्या पु¥याएर सरकार बनाउने, कुनै मन्त्रालय लिने मात्र भएर अघि बढ्यौँ भने अग्रगतिमा पुग्न सकिँदैन । नीति र कार्यक्रमका आधारमा सरकारमा जानुपर्छ ।

हामीले जल्दाबल्दा सवाल, राष्ट्रियताका सवाल बुलन्द रूपमा सदनमा उठाउनुपर्छ । थोरै सांसद भएपनि समाजवादी दिशातर्फ अघि बढ्न सकौं । हामी धारिलो र लक्ष्यगत ढंगले काम गरौं ।’

प्रतिक्रिया दिनुहोस्