Logo
Logo

महानिर्देशक भट्टराईको कमाउधन्दा


2.1k
Shares

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराई पछिल्लो समय आक्रामक शैलीमा प्रस्तुत हुन थालेका छन् । बजार अनुगमनका नाममा आफैंले उजुरी दिन लगाएर छापा हान्ने र माथिल्ला निकायको दबाब छ भन्दै उद्योगीहरुसँग डिल गर्ने गरेको आरोप उनीमाथि लाग्दैआएको छ । उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडुको सोझोपनको फाइदा उठाउँदै भट्टराई अहिले कमाउ धन्दामा लिप्त छन् । बजार अनुगमनमा दैनिकजसो ३ देखि ७ वटा टोली परिचालित छन् । टोलीमा उनीनिकट कर्मचारीहरुको बाहुल्यता रहने गरेको छ ।

देशकै प्रमुख ब्यापारिक केन्द्र काठमाडौंको न्यूरोड, दरबारमार्गजस्ता उपभोक्ताको भिडभाड हुने ठाउँका ब्यापारीहरु अहिले मन्दीले मारमा परेका छन् । कोरोना, युक्रेन आक्रमणपछि थला परेका उद्योगी–ब्यवसायीहरु उठ्नै नसक्ने अवस्थामा पुग्न लागेका छन् । पसल खोलेर सामाजिक सञ्जाल चलाएर समय बिताउनुपर्ने बाध्यता उनीहरुसँग छ ।

सिमेन्ट, छड, ईटा निर्माणजन्य सामग्री उत्पादन गर्ने उद्योगहरु आधाउधीले उत्पादन बन्द गरिसकेका छन् । संचालन भइरहेकाहरुले पनि उत्पादन कटौती गरिरहेका छन् । वर्षा सकिएपछि संरचना निर्माण गर्ने मौसम हो, तर सरकारी पुँजी चलायमान नहुँदा विगत वर्षमा भन्दा यसवर्ष निर्माण कार्य अति सुस्त छ । व्यक्तिगत लगानी गरेर संरचना निर्माण गर्नेहरु पनि बैंकले कर्जा नदिएका कारण अगाडि बढ्न सकिरहेका छैनन् ।

बैंकको १८ प्रतिशत चर्को ब्याज लिएर व्यवसाय धान्न बाध्य भइरहेकाहरुलाई वाणिज्य विभागले कालोबजारी गरेको भन्दै छापा मारेर आतंक मच्चाउँदै आएको छ । जसका कारण उद्योगी–व्यापारीहरु आतंकित छन् । उद्योग विभागका कर्मचारीले उद्योग प्रशासनसम्बन्धी काम गरेबापत मोटो घुस लिएको भन्दै उद्योग वाणिज्य महासंघकै पदाधिकारीले मन्त्री र प्रधानमन्त्रीलाई गुनासो गरिसकेका छन् । वाणिज्य विभागका महानिर्देशक भट्टराईले पनि आतंक मच्चाएकाले ब्यापारीहरु दोहोरो चेपुवामा परेको विषयमा समेत मन्त्रीलाई ध्यानाकर्षण गराइएको एक व्यापारीले बताए । लामो समय भन्सार प्रशासनमा कार्यरत भट्टराई फाष्टट्रयाकमा वाणिज्यको महानिर्देशक बन्न सफल भएका हुन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख रहेका उनलाई अर्थ मन्त्रालय हुँदै भन्सार विभागको उपमहानिर्देशक, भोलिपल्टै उद्योग, वाणिज्य मन्त्रालयमा हाजिर नहुँदै सोझै वाणिज्य विभागको महानिर्देशकमा बहाली गराइएको थियो । बालुवाटारको रोजाइमा परेका भट्टराईले उद्योगमन्त्री बडुले महानिर्देशकमा खटाउँदा समेत चिनेका थिएनन् । बालुवाटारबाट सिधै वाणिज्य विभागमा पुगेका भट्टराईले उद्योग र वाणिज्य सचिव दुवैको निर्देशनसमेत बालुवाटारको आडमा पालना नगरेको स्रोतले बताएको छ ।

उनले आफुनिकट कर्मचारीहरुलाई आर्थिक संकलन गर्नकै लागि बालुवाटारबाट पठाइएकाले जसरी भए पनि उद्देश्य पूरा गर्ने कार्यमा सहयोग पुर्याउन आग्रह गर्दै आएका छन् । उनलाई वाणिज्य विभागको सदाबहार निर्देशक जस्तै रहेका डम्बरु निरौलाले भरपूर सहयोग गर्दैआएका छन् । उनी करिब ५ वर्षदेखि त्यहाँ कार्यरत छन् । उनलाई निजामती सेवा नियमावलीमा रहेको २ वर्षे अवधिसमेत लागू हुन सकेको छैन ।

आफूलाई कांग्रेसनिकट कर्मचारी बताउने निरौला सीडीओ बन्नका लागि लबिङ गरे पनि गृह प्रशासनले नपत्याउँदा वाणिज्यमा महानिर्देशकसँग मिलेर अर्थ संकलनमा सक्रिय छन् । केही वर्षंअघि स्थानीय निकायमा समेत कार्यरत रहेका उनी बहाली हुने तर टिक्दै नटिक्ने प्रमुख प्रशासकीय अधिकृतका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्