Logo
Logo

मधेस प्रदेशः अन्यौलमा सत्ता समीकरण


567
Shares

काठमाडौं । संघमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण प्रक्रिया सुरु भइसक्दा मधेस प्रदेशमा सत्ता समीकरण अन्यौलमा छ । राजनीतिक दलहरूले संसदीय गतिविधिका लागि खासै चासो देखाएका छैनन् ।

जसकारण प्रदेशसभा सचिवालयलेसमेत सर्वदलीय बैठक र नवनिर्वाचित प्रदेशसभा सदस्यलाई शपथग्रहण गराउने कार्यक्रम तय गर्न सकेको छैन ।

मधेस प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेतृत्वसँग अनौपचारिक कुराकानी भइरहे पनि हालसम्म ठोस योजना बनिनसकेको बताए । अर्को हप्तासम्म सर्वदलीय बैठक बोलाउने तयारी गरे पनि दलहरूबाट प्रष्ट सङ्केत नआएकाले निष्कर्षमा पुग्न नसकेको उनले बताए ।

‘उहाँहरू (दलहरू) केन्द्रीय सत्ता समीकरणको पर्खाइमा हुनुहुन्छ होला । हामीलाई पनि पार्टीहरूको संसदीय दल र नेतृत्व चयन भएको भए सल्लाह गर्न सजिलो हुन्थ्यो’, उनले भने, ‘तर पनि शपथग्रहण र प्रदेशसभा बैठकका लागि संसद् सचिवालय तयारी अवस्थामा छ । सर्वदलीय बैठकपछि कार्यक्रम तय गर्छौँ ।’

नेपालको संविधानको धारा १७९ अनुसार प्रदेसभाका सदस्यहरूले प्रदेशसभा बैठकमा पहिलोपटक भाग लिनुअघि प्रदेश कानुनबमोजिम शपथ लिनु पर्नेछ । त्यसैगरी संविधानको धारा १८३ (१) मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ ।

निर्वाचन आयोगले यही पुस २ गते अन्तिम परिणाम घोषणा गरिसकेकाले आगामी पुस २१ गतेभित्र अधिवेशन बोलाइसक्नुपर्नेछ भने त्यसअघि नै नवनिर्वाचित प्रदेशसभा सदस्यले शपथ लिइसक्नुपर्नेछ ।

प्रदेशसभा सचिवालयका सचिव यादवले संवैधानिक व्यवस्थानुसार आगामी पुस २१ गतेभित्र प्रदेशसभा बैठक बस्नैपर्ने भएकाले त्यही आधारमा प्रदेशसभा बैठकको व्यवस्थापन गरिने स्पष्ट पारे । बीस दिनभित्र बैठक बस्ने र त्योभन्दा अघि शपथग्रहण गरिसक्नुपर्ने प्रावधान भए पनि प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्षको बन्ने प्रष्ट नभएकाले अहिले नै प्रदेशसभा बैठक व्यवस्थापनमा अन्योल रहेको बताए ।

‘बैठक बस्नुअघि नै नयाँ सरकार बनेमा सोहीअनुसार व्यवस्थापन गर्छौँ’, यादवले भने, ‘त्यसो नभए पनि सर्वदलीय बैठकको निर्णयबमोजिम अगाडि बढ्छौँ ।’ संविधानको धारा १६८ (३) मा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र प्रदेश सरकार बनाउनुपर्ने प्रावधान छ । यसअनुसार आगामी पुस ३१ गतेभित्र सरकार बनाइसक्नु पर्नेछ ।

निर्वाचन आयोगबाट प्राप्त परिणाम र प्रदेश सचिवालयमा उपलब्ध विवरणानुसार प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले पहिलो बैठकको अध्यक्षता गर्नेछन् । नेकपा एकीकृत समाजवादीको तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नं ४ (१) बाट निर्वाचित न्यौपाने हाल सबैभन्दा ज्येष्ठ सदस्य रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

नेपालको संविधानअनुसार सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा प्रदेशसभा बैठकको अध्यक्षता उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्छन् । ज्येष्ठ सदस्यले प्रदेशसभा सचिवालयको सिफारिसमा प्रदेश प्रमुखसमक्ष शपथग्रहण गर्ने गर्दछन् । यही व्यवस्थानुसार सर्वदलीय बैठकपछि ज्येष्ठ सदस्य र त्यसपछि बाँकी सदस्यको शपथग्रहणको योजना बनाउने प्रदेशसभा सचिवालयका सचिव यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्