Logo
Logo

एमालेले आत्मविश्वास प्राप्त गरेको छ : ओली


126
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट प्राप्त भएको अभिमतले आफूहरुको मनोबल उच्च भएको र आत्मविश्वास बढेको बताएका छन् ।

उनले आफ्नो पार्टीले देशको लोकप्रिय पार्टीका रुपमा विजयी भएको र यसलाई उत्सवका रुपमा मनाएको पनि टिप्पणी गरे ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीकातर्फबाट निर्वाचित सांसदहरुको सम्मान एवं बधाईका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले नेपालको कम्युनिस्ट आन्दोलनलाई मजबुत बनाएको र राष्ट्रिय मूलधारका रुपमा स्थापित गरेको धारणा राखे ।

हालै सम्पन्न निर्वाचनमा केही स्थानमा कमी कमजोरी पनि देखिएका बताउँदै आगामी दिनमा सुधार गरेर लोकतान्त्रिक प्रणालीको सुधारमा लागिपर्नुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पराजित नभएको र आगामी दिनमा सुखी नेपाली र समृद्ध नेपाल निर्माण निर्माणका लागि आत्मविश्वासका साथ अगाडि बढ्ने पनि बताए ।

नेपाली जनताले आफ्नो पार्टीलाई कूल सात प्रदेशमध्ये छ वटा प्रदेशमा १ नम्बरको पार्टी बनाएको भन्दै उनले प्रसन्नता व्यक्त गरे । निर्वाचनपछि पनि देश राजनीतिक अराजकतातर्फ गएको र आर्थिक हिसाबले सम्हाल्नै नसक्ने अवस्थामा पुगेको भन्दै उनले एमालेका जनप्रतिनिधिले वास्तविक अर्थमा भूमिका खेल्न आग्रह गरे ।

अध्यक्ष ओलीले नयाँ जनादेशपछि सहजरुपमा सरकार गठन हुनुपर्नेमा त्यस्तो अवस्था नदेखिएको तथा उत्पन्न भएको अलमलले देशको हित नगर्ने भन्दै त्यस्तो गतिविधिमा आफूहरु संलग्न नहुने बताए ।

लोकतन्त्रमा गलत मानसिकता स्थापित हुन थालेकामा चिन्ता व्यक्त गर्दै उनले मर्यादित र अनुशासित प्रणालीको विकास हुनुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्रमा समस्या खडा भएको, बेरोजगारी बढेको, बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह गर्ने अवस्था नभएको आरोप लगाउँदै त्यसप्रति आफूहरु चिन्तित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्