Logo
Logo

कांग्रेस संसदीय दलको नेता चुन्न मतदान जारी


1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान भइरहेको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा केहिबेरअघिबाट सुरु भएको मतदान बिहान १० बजे सकिनेछ ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले पहिलो मतदान गरेका छन् । मतदान सकिएपछि आजै मतगणना र परिणाम घोषणा हुने कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले जनाएको छ । यस निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभा सदस्य हुन् ।

दलको नेता बन्न देउवा र थापा उम्मेदवार छन । संसदीय दलको नेता नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले यस निर्वाचनलाई महत्वपूर्ण मानिन्छ ।

कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । उपदफा (२) मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ ।

दलको चुनावअघि देउवाका पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला र विमलेन्द्र निधिले साथ दिने बताइसकेका छन्। पौडेल त देउवाको उम्मेदवारीमा प्रस्तावकसमेत हुन् ।

त्यसैगरी, महामन्त्री थापाको पक्षमा नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र काठमाडौं–५ बाट विजयी प्रदीप पौडेलसहित उभिएका छन् ।

अहिलेसम्मको अवस्थामा देउवाका पक्षमा ५६ र थापाका पक्षमा ३३ जना सांसद देखिएका छन् । तर, यो संख्यामा निर्वाचनको दिन तलमाथि हुनसक्छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो । समितिले मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्