Logo
Logo

पर्यटकीय सम्भावना बोकेको निसेलढोर अन्धकारमा


1.5k
Shares

ढोरपाटन । जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा टाढाको गाउँ हो निसेलढोर । यहाँका स्थानीयवासीको वेषभूषा, रीतिरिवाज र जीवनशैली विल्कुलै फरक छ । बागलुङकै सबैभन्दा दुर्गम मानिने यो ठाउँले पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ ।

नेपालकै एकमात्र ढोरपाटन सिकार आरक्ष पर्ने यस क्षेत्र पशुपालन, कृषि, पर्यटन र जडीबुटीका उत्पादनका लागि अगाडि रहे पनि विकासमा भने वर्षौँदेखि पछाडि परेको छ । यहाँका नागरिकले अहिलेसम्म पनि न्यूनतम विकासको अनुभूति गर्न पाएका छैनन् । केही समय अगाडि मोटरबाटोले निसेलढोर जोडिए पनि अहिलेसम्म विद्युत्, स्वास्थ्य र गुणस्तरीय शिक्षा पुग्न सकेको छैन ।

यहाँका अधिकांश स्थानीय टुकीकै भरमा रात बिताउँछन् । जिल्लाको निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोरबाट गाउँपालिकाको केन्द्रमा पुग्नै झण्डै एक दिन लाग्छ । गाउँपालिकादेखि सिधा सडक सञ्जालले नजोडिएको हुँदा यहाँ पुग्न ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार हुँदै जानु पर्छ ।

एक दशक पहिलेसम्म यहाँका स्थानीय जाडोयाममा बेँसी (निसीगाउँ) र गर्मीयाममा लेक (निसेलढोर) गर्ने गर्थे । अहिले सिजनअनुसार बसाइँसराइ गर्न छाडेर स्थायीरूपमै स्थानीय यहाँ बस्ने गर्छन् । यहाँ करिब ६० घरपरिवार स्थायीरूपमा बसोबास गर्ने गर्छन् । वर्षातको समयमा करिब चार सय बढी परिवार यहाँ बस्ने स्थानीय वीरबहादुर विकले बताए । उनका अनुसार यो सिजनमा पनि निसेलढोरमा २५ घरपरिवार बस्दै आएका छन् ।

चिसो बढेपछि अधिकांश मङ्सिर पहिलो साता नै निसीगाउँमा झरिसकेका छन् । उनीहरु अब असार लागेपछि मात्रै ढोर उक्लिने छन् । हिउँदमा बेँसी र बर्खामा लेकमा बस्नु निसीखोला–५ वासीको परम्पराजस्तै हो । उनीहरुले सयौँको सङ्ख्यामा पशुचौपाया पाल्ने हुँदा लेक–बेँसी गर्नुपरेको हो । अहिले चिसोले दैनिकी कष्टकर बन्दै गएको विकले बताए ।

निसेलढोरमा विद्युत् पुर्याउनका लागि सरोकारवाला निकायलाई बारम्बार आग्रह गरे पनि सुनुवाइ हुन नसकेको स्थानीयको गुनासो छ ।

स्थानीय मनिराम घर्तीमगरले निसेलढोरमा आन्तरिक पर्यटक पुग्ने गरेको भन्दै विद्युतको सुविधा नहुँदा बास नबसी फकर्ने गरेको बताउछन् । उनले यस ठाउँ पर्यटकको रोजाइमा परेको सुनाउँदै विद्युतको पहुँच पुगेको भए यहाँका नागरिकको जीवनस्तर फेरिन धेरै समय नलाग्ने बताए ।

केही वर्ष अगाडि यहाँ मोटरबाटो पुगेपछि स्थानीयवासीलाई यहाँ उत्पादन भएका स्याउ, सिमी, भाँगो र अन्य उत्पादित वस्तु बजारसम्म पु¥याउन सहज भएको छ । विगतदेखि नै ओझेलमा पर्दै आएको यो ठाउँले अहिलेसम्म मुहार फेरिन नसकेको स्थानीयको गुनासो छ ।

अहिले यहाँ कक्षा ५ सम्म पढाइ हुने गरेको भन्दै विद्यालय भवन व्यवस्थित बनाउने र अहिलेसम्म स्वास्थ्य संस्था नभएको हुँदा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्ने गरी बजेट विनियोजन गरिएको छ । स्वास्थ्य एकाइ स्थापनाका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरेको गौतमको भनाइ छ । विद्युत् विस्तारका लागि पनि गाउँपालिकाले सम्बन्धित निकायसँग माग गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्