Logo
Logo

नेपाल पत्रकार महासंघको साधारणसभा सुर्खेतमा हुँदै


378
Shares

सुर्खेत । नेपाल पत्रकार महासंघको सुर्खेतमा हुने केन्द्रीय साधारणसभाबाट भावी योजना निर्माण गरिने भएको छ ।

यही पुस ८ र ९ गते सुर्खेतमा आयोजना हुने साधारणसभाबाट महासंघको आगामी कार्ययोजना बनाइने महासचिव रोशन पुरीले बताए । उनले भने, ‘सुर्खेतमा सम्पन्न हुने साधारणसभाले महासङ्घको नीतिगत तथा वैधानिक अधिवेशनका रूपमा निर्णय गर्नेछ ।’

महासचिवले महासंघको साङ्गठनिक नीतिगत प्रतिवेदन, कोषाध्यक्षले पेस गर्ने आर्थिक प्रतिवेदन र लेखा समिति संयोजकले प्रस्तुत गर्ने प्रतिवेदनमाथि बृहत् छलफल हुने उनले जनाए ।

यो साधारणसभामा महासंघका ७७ जिल्ला शाखा, ३९ प्रतिष्ठान शाखा, १२ एशोसिएट शाखा, १० वैदेशिक शाखा र दुई आवासीय शाखा (नेजा र एन्जा)का पदाधिकारी सदस्य गरी सात सय ५० राष्ट्रिय परिषद् सदस्यको सहभागिता हुने उनले बताए । उनका अनुसार साधारणसभा सम्पन्न गर्न आर्थिक दायित्व महासङ्घ केन्द्रीय समितिले लिएको छ ।

महासंघले अधिवेशन सफल पार्नका लागि तीन तहका सरकारसँग आर्थिक सहयोगका लागि अनुरोध गरेको कोषाध्यक्ष कलेन्द्र सेजुवालले बताए । सङ्घीय सरकारले महासङ्घको अधिवेशनका लागि वार्षिक बजेट विनियोजन गर्दै आएको छ ।

कर्णाली प्रदेश सरकारले अधिवेशनकै लागि रु १५ लाख बजेट व्यवस्थापन गरेको बताउँदै उनले स्थानीय सरकारको समेत दायित्ववोध हुने भएकाले सुर्खेतस्थित स्थानीय तह र संस्थासँग आर्थिक सहयोगका लागि अनुरोध गरिएको जनाए ।

राष्ट्रिय परिषद् सदस्यहरूका लागि सुर्खेतका २२ होटल व्यवस्था गरिएको महासङ्घका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले जानकारी दिए । साधारणसभाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्