Logo
Logo
समाचार विश्लेषण

प्रचण्डलाई गगनको सन्देश- सम्झौता गर्दा सजग हुनु, देउवाले धोका दिन सक्छन्


38k
Shares

काठमाडौं । शेरबहादुर देउवा नेपाली राजनीतिका खुङ्खार खेलाडी हुन् । राजनीतिका अगडमबगडम देउवा जति अरुलाई आउँदैन । त्यसैले त, देउवालाई विकृत राजनीतिका पर्याय मानिन्छ ।

रमाइलो पक्ष– राजनीतिमा शेरबहादुर विकृत नाम हो । तर, जति नै धेरै विकृत भए पनि राजनीति उनकै वरिपरि घुमिरहन्छ । कल्पनै नगरे पनि फ्याट्ट–फ्याट्ट प्रधानमन्त्री आइलाग्छ ।

२०७४ को आमनिर्वाचनपछि पाँच वर्ष देउवाका लागि बुढानिलकण्ठमा काजुबदाम खाँदै बस्ने समय निर्धारण भएको थियो । तर, तीन वर्षमै फ्याट्ट प्रधानमन्त्री आइलाग्यो । अनि सम्झे होलान्– सात पटक प्रधानमन्त्री हुन्छस् भन्ने ज्योतिषलाई !

एमाले–माओवादी अर्थात कम्युनिष्ट विग्रहकाे फाइदा देउवालाई मिल्यो । त्यसैको जगमा पुनः प्रधानमन्त्रीको बलियो दाबेदारका रुपमा प्रस्तुत भए । ओलीविरुद्ध बनेको वाम–लोकतान्त्रिक गठबन्धन त्यसको जग बन्यो ।

बुधबार कांग्रेस संसदीय दलको निर्वाचन सम्पन्न भयो । गगन थापालाई पराजित गर्दै देउवा नेता निर्वाचित भए । छैटौँ पटक प्रधानमन्त्री बन्ने बाटोले वैधानिकता पायो । अनि फेरि सम्झे होलान्– सात पटक प्रधानमन्त्री हुन्छस् भन्ने ज्योतिषलाई !

चौथो र पाँचौँ पटक प्रधानमन्त्री हुँदा देउवालाई माओवादीको साथ थियो । र, छैटौँ पटक प्रधानमन्त्री हुन पनि देउवालाई माओवादीकै साथ मिल्नुपर्ने छ । यसरी हेर्दा संसदीय राजनीतिमा कांग्रेस–माओवादी सहकार्य अनपेक्षित प्रगाढ देखिन्छ ।

कांग्रेसभन्दा पनि माओवादी र शेरबहादुर देउवाको विगत सम्झिनलायक छैन । माओवादी नेताको टाउकोको मोल तोक्ने त देउवा नै हुन् । तर, संसदीय राजनीतिमा सत्ता प्रधान बन्दै जाँदा विगतका तीतोहरु पखालिए  झै  लाग्छ ।

यतिखेर प्रधानमन्त्रीका रुपमा देउवाको छैटौं इनिङ तत्काल सुरु हुने या साढे दुई वर्षपछि भन्ने विषय पेचिलो छ । यसको मुख्य कारण माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रधानमन्त्री दाबी हो ।

वर्तमान सत्ता गठबन्धनकै सरकार बन्ने अवस्थामा देउवा र प्रचण्ड प्रधानमन्त्रीका मुख्य दाबेदार हुन् । यी दुवै आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्न तयार छन् । तर, को पहिला भन्नेमा विवाद छ । दुवैले पहिलो कार्यकालको प्रधानमन्त्री बन्न चाहेका छन् ।

कांग्रेस सबैभन्दा ठूलो दल हो । यस आधारमा देउवा प्रधानमन्त्रीका पहिलो हकदार हुन् । तर, दुई वर्षपछि इमानदारीपूर्वक देउवाले सत्ता हस्तान्तरण गर्छन् भन्नेमा प्रचण्ड विश्वस्त छैनन् । किनकी, देउवाको सत्तामोह प्रचण्डले राम्ररी बुझेका छन् ।

​​​​​​​देउवामा यस्तो गुण र कला छ, जुन गुण र कलाका अगाडि धेरै कुरा लत्रक्क हुन्छ । उनी बोल्दैनन्, बोले पनि थोरैले मात्र बुझ्छन् । तर, नबोली भित्रभित्रै काम तमाम गर्छन् । नबोलेरै धेरै कुरा टारिदिन्छन् । प्रचण्डलाई डर यसैको हो ।

देउवालाई राजनीतिक मूल्यमान्यता मतलव हुँदैन । आफूलाई ठीक लागे सबै ठीक ठान्छन् । चाहेको पूरा गर्न जे पनि गर्न तयार हुन्छन् । उनलाई कसले के भन्छ भन्ने चिन्ता हुँदैन । सुने पनि नसुने झै गरेर समय काटिदिन्छन् ।

प्रचण्डले यसअघि नै देउवासँग प्रतिवद्धता गरेअनुसार सर्लक्कै प्रधानमन्त्री हस्तान्तरण गरेर राजनीतिक इमानदारिता प्रस्तुत गरिसकेका छन् । तर, देउवाले उक्त प्रतिवद्धता सम्झेलान् झै लाग्दैन, प्रचण्डलाई । यस्ता धेरै उदाहरण छन्, देउवाले प्रतिवद्धता पूरा गरेका छैनन् ।

देउवा इमानदार र प्रतिवद्ध छैनन् भन्ने प्रचण्डलाई मात्र लाग्ने होइन, लोकलाई नै लाग्छ । र, आफ्नै पार्टीका नेता कार्यकर्ता पनि देउवाका बेइमानीमा जानकार छन् ।

देउवासँग संसदीय दलको नेता पराजित भएपछि महामन्त्री गगन थापाले भनेका थिए– ‘राष्ट्रपति, प्रधानमन्त्री वा अन्य कुनै पदका लागि बन्द कोठात्रिभ हुने सहमतिको जिम्मेवारी पार्टीले लिने छैन । अहिले बन्द कोठाभित्र गरेको सहमति कार्यान्वयन नभएको खण्डमा पछि कांग्रेसले धोका दियो भन्न कसैले पाउनुहुने छैन । कांग्रेस त्यसको जिम्मा लिन तयार छैन, लिनेवाला छैन ।’

गगनको यो बोली पराजयको अभिव्यक्ति मात्र थिए, पार्टी सभापति देउवाप्रतिको अविश्वास मात्र थिए, प्रचण्डलाई गज्जबको सुझाव थियो । 

गगनले प्रचण्डलाई घुमाउरो पारामा भने– ‘देउवा दलको नेता निर्वाचित भए । सभापति पनि भएकाले उनकै निर्णयमा पार्टी अघि बढ्छ । यस्तो अवस्थामा सहमति, सहकार्यको सम्झौता देउवाबाटै हुन्छ । तर, देउवासँगको सहमतिमा विश्वस्त हुन सकिन्न है । प्रचण्ड पनि विश्वस्त नहुनु ।’

गगनको यो अभिव्यक्ति आलोपालो प्रधानमन्त्रीमा सहमति गर्न लागेका प्रचण्डलाई अति राम्रो सुझाव हो । किनकी, प्रचण्डले विगतमा पनि यस्तै सहमतिबाट धोका खाइसकेका छन् । ओलीसँग आधा–आधार कार्यकाल प्रधानमन्त्री हुने सम्झौता गरेका प्रचण्डले धोका पाएका थिए ।

कांग्रेसमा सभापतिको निर्णय नै अन्तिम हुन्छ । तर, गगनले ‘पावर सेयरिङ’को सन्दर्भमा हुने सबै सम्झौताहरू पार्टीले अनुमोदन गर्नुपर्ने धारणा राखेका छन् । यसले पनि के पुष्टि गर्छ भने कांग्रेसभित्रै पनि देउवामाथि पूर्णविश्वास गर्ने जमात घट्दै गएको छ ।

एक कोणबाट मात्र हेर्दा गगनले पराजयको पीडामा देउवामाथि अविश्वास गरेको भन्ने अर्थ पनि लाग्छ । तर, विगत हेर्दा आँखा चिम्लेर विश्वास गर्न सकिने पात्रा होइनन्, शेरबहादुर देउवा ।

यस पटकको जनमत अति तरल छ । यो जनमत जता पनि बग्न सक्छ । यस्तो जनमतलाई अनुकूल प्रयोग गर्न देउवाले धेरैपटक अभ्यास गरिसकेका छन् र सफल पनि भएका छन् । यस आधारमा पनि गगनले भने झौ देउवालाई फ्याट्ट विश्वास गरिहाल्ने अवस्था हुँदैन ।

प्रतिक्रिया दिनुहोस्