नेपाली राजनीतिमा पुस्तान्तरणको बहस फगत मानिन्छ । तर, समयले अपरिहार्य ठान्छ । विडम्बना ! यहाँ त समयको बेगलाई पनि पो रोक्ने दुस्साहस गरिन्छ !
युवा नेता यौवनमै निश्चित राजनीतिक जिम्मेवारी सम्हाल्दै देशको नेतृत्व गर्न चाहन्छन् । तर, हिम्मत गर्दैनन् । र, परम्परागत रुपमा प्रौढकालमा त्यो ठाउँ पुग्छन् । जतिबेला अनुभव बाहेक सबथोक गुमाइसकेका हुन्छन् ।
नेपाली राजनीतिमा एउटा गलत भाष्य स्थापित गरिएको छ । भनिन्छ– युवा उमेरले हुँदैन, विचारले मात्र हुन्छ । प्रस्तुत भाष्यमा आंशिक सत्यता भेटिएला तर पूर्ण होइन । तर, विचारमा पनि युवापन भने चाहिन्छ ।
यौवन र प्रौढ प्राकृतिक प्रकृया हो । र, जीवनकालको यी दुवै खण्डको आ–आफ्नै महत्व र विशेषता हुन्छ । अनुभव बढ्दै जाँदा प्रौढमा अरु गुम्दै जान्छ । तर, यौवनमा अनुभव बाहेक सबथोक हुन्छ । तर, अनुभव भन्ने कुरा अवसर पाउँदै जाँदा सँगाल्दै जाने निधि हो ।
बहस यौवन र प्रौढको भन्दा पनि युवालाई अवसरको हो । नेपाली राजनीतिमा किन युवाले अवसर पाउँदैनन् ? भन्ने महत्वपूर्ण प्रश्न छ । यसका अनेक कारण र उत्तर छन् । मूल कुरा युवाकै हिम्मतमा अड्कन्छ ।
ठूला–ठूला राजनीतिक परिवर्तनले भर्खर विश्वविद्यालय टेक्दै गरेका युवालाई राजनीतिमा स्थापित गर्यो । ति युवा अब प्रौढको लाइनमा पुग्ने बेला भइसक्यो । तर, राजनीतिक नेतृत्वको रुपमा उनीहरूले स्थापित हुने अवसर नै पाएनन् । र, प्रौढहरूले नै नेतृत्व गरिरहेका छन् ।
युवाले चाहना राख्ने तर हिम्मत नगर्ने । प्रौढले युवाबारे बोल्ने तर युवालाई अवसर नदिने । यो जटिल अन्तरविरोध अहिलेको मुख्य समस्या हो । नेतृत्वका लागि चाहना नराख्ने युवा छैनन् । र, युवालाई अवसर दिनु हँदैन भन्ने प्रौढ पनि छैनन् । तर, राजनीतिमा प्रौढकै हालिमुहाली छ । युवा ठूलो रुखको सेपमा परेर ओइलाए झैँ खिनाउटे देखिन्छन् ।
युवाले आफूलाई नेतृत्वका रुपमा तयार पार्नै सकेका छैनन् । किनकी, युवाको राजनीति प्रौढको आशीर्वादमा निर्भर छ । त्यो वातावरण युवाकै कारण बन्यो । युवा आफू तयार हुनेभन्दा पनि तयारी पारिने पंक्तिमा उभिनु यसको जड हो ।
कांग्रेस, एमाले, माओवादी र अन्य दलमा आफूलाई युवा पंक्तिमा उभ्याउने नेता धेरै छन् । तर, शेरबहादुर देउवा, केपी शर्मा ओली, प्रचण्ड र माधवकुमार नेपालहरुको विकल्पमा उभिन सकेका छैनन् । प्रौढ नेतृत्वले जे भने पनि स्वीकार गर्नेहरूको जमात ठूलो छ ।
कांग्रेस महामन्त्री गगन थापा उमेरले प्रौढतर्फ लम्कँदै छन् । तर, पनि उनलाई अहिलेसम्म प्राैढहरुको तुलनामा युवा मानिन्छ । र, पछिल्लो दशकका उनै गगन एक्ला नेता हुन्, जो प्रौढ नेतृत्वलाई मैदान उत्रेरै चुनौती दिन तयार भए ।
गगनले आफ्नो सक्रिय राजनीतिककाल निर्धारण गरिसकेका छन् । उनकै घोषणाअनुसार पुगनपुग दशक राजनीति गर्नेछन् । र, यो दशकमै प्रधानमन्त्री बन्ने उनको घोषणा हो । पहिलो प्रयास सफल भएन । तर, प्रौढ सभापति शेरबहादुर देउवासँग दलको नेताका लागि प्रतिस्पर्धा गर्नु चाहिँ उनको सफलता हो ।
परिणामको दृष्टिले गगन पराजित भए । तर, उमेर र अनुभवका हिसाबले भीमकाय देउवासँग उनको प्रतिस्पर्धाले जितभन्दा ठूलो सन्देश दियो । कांग्रेसजस्तो परम्परागत पार्टीमा घगडान सभापतिविरुद्ध एउटा फुच्चे केटोले धावा बोल्यो !
भीमकाय उचाइका देउवाविरुद्ध फेदीबाट भएको ‘गगन साहस’ सामान्य सन्देश होइन । त्यो भन्दा ठूलो सन्देश गगनको नाममा बनेको एकता हो, त्यो एकताले दिएको सन्देश हो । जसले, युवाको बाटो खोल्ने बाटो देखाएको छ ।
गगन ‘प्रधानमन्त्रीको उम्मेदवार बन्छु’ भन्दै काठमाडौंमा भोट माग्दै थिए । त्यति नै बेला ‘गगनलाई प्रधानमन्त्री बनाउन प्रस्तावक बन्छु’ भन्दै झापामा विश्वप्रकाश चुनावी मैदानमा थिए । कांग्रेसमा युवा पुस्ताको यो अभूतपूर्व सन्देशयुक्त सहकार्य र स्वीकार्यताको सुरुवात थियो ।
गगन संसदीय दलको नेताका लागि उम्मेदवार बन्दै गर्दा युवा पुस्ताका नेता प्रदीप पौडेलहरु आफ्नो गुटहरू त्यागेर गगनलाई भोट दिन र भोट माग्न तयार भए । त्यसैले त सम्भव भयो– गगनको पक्षमा २८ प्रतिशत भोट ।
कांग्रेसलाई परम्परागत पार्टी मानिन्छ । यहाँ अझै पनि अवसरका लागि आशीर्वादले महत्वपूर्ण स्थान पाउँछ । तर, सोही पार्टीमा गगन, विश्व र प्रदीपहरुको उदय भयो । यसलाई सुखद पक्ष मान्नुपर्छ । तर, अन्य दलमा यस्तो अवस्था छ ? यो निक्कै जटिल र मर्मस्पर्शी प्रश्न हुन्छ ।
वामपन्थीहरू आफूलाई प्रगतिशील कित्तामा उभ्याउँछन् । र, समकालीन शक्तिहरूलाई यथास्थितिवादी र परम्परागत ठान्छन् । तर, व्यवहारको दृष्टिले वामहरु प्रजातान्त्रिक शक्तिहरुभन्दा धेरै गुणा यथास्थितिवादी र परम्परागत देखिन्छन् । अर्थात समयको माग बुझ्न र वास्तविकता बुझ्न वामपन्थीहरू अझै पछि छन् । उनीहरूको व्यवहारले यसै भन्छ ।
कम्युनिष्ट पार्टीहरूमा कांग्रेसका गगनहरु झैँ नेतृत्वका लागि अदम्य साहस भएका युवा नै छैनन् ! किनकी, यहाँ आसीन नेतृत्वको विकल्प खोज्नुलाई ‘कू’ मानिन्छ । र, उनैमाथि अनेक डन्डा चलाइन्छ । आमनिर्वाचनको फेरिफेरिकै घटनाहरू हेरे पनि पुग्छ ।
कम्युनिष्टहरू विचार र नेतृत्वलाई एउटा सिक्काका दुई पाटा मान्छन् । यसको अर्थ विचारविहीन नेतृत्व हुँदैन । तर, विचार, आदर्श र सिद्धान्तको परिपुरकका रुपमा कुनै प्रौढ नेताले आफूलाई स्थापित गर्न सकेका छैनन् । उनीहरु पनि परम्परागत ढङ्गले नै पार्टी सञ्चालन गर्छन् र नेतृत्व विकासलाई पनि त्यसरी नै हेर्छन् ।
कम्युनिष्ट शक्तिहरू एमाले, माओवादी र एकीकृत समाजवादीमा थुप्रै युवा छन् । तर, यहाँका युवा शक्तिको उपस्थिति हस्तक्षेपकारी छैन । अपवाद बाहेक सबै युवा मुख्य नेतृत्वको गुणगानमा भविष्य देख्छन् । र, आफूलाई पनि प्रौढ अवस्थामै नेतृत्व पाउने पङ्क्तिमा उभ्याउँछन् । त्यसैले यहाँ युवामा दासत्वको गुणहरू भेटिन्छ ।
कम्युनिष्ट शक्तिमा युवा ओझेलमा पर्नुको मुख्य कारण कम्युनिष्ट शक्तिहरूको व्यवहार हो । यहाँ फरक मत राख्नेहरुलाई निर्ममतापूर्वक प्रहार गरिन्छ । अर्थात, कम्युनिष्टहरूले प्रजातन्त्र स्वीकारेका छन् तर प्रजातान्त्रिक आचरण अनुसरण गर्न सकेका छैनन् । कम्युनिष्ट शक्तिहरूमा कांग्रेसका गगन जसरी नेतृत्वको विकल्प खोज्नेहरूकाे राजनीतिक भविष्य समाप्त हुन्छ ।
जे होस्, गगन, विश्व र प्रदीपहरु हस्तक्षेपकारी उपस्थितिको सुरुवात गरेका छन् । यसले, समग्र नेपाली राजनीतिमा सकारात्मक सन्देश दिने छ । र, कम्युनिष्ट शक्तिका युवालाई पनि सिक्ने अवसर मिलेको छ ।
कांग्रेस जसरी कम्युनिष्ट युवाले पनि हिम्मत गर्ने हो भने दुई कुरा हुन्छ– एक, नेतृत्वलाई खबरदारी हुन्छ । दुई, नेतृत्वमा युवा पुस्ताका लागि विस्तारै वातावरण बन्दै जान्छ ।