Logo
Logo
कला

‘क्षमता देखाउन पाएकै छैन’


4.7k
Shares

काठमाडौं । चर्चित हास्य टेलिश्रृंखला ‘भद्रगोल’का ‘काली’ अर्थात आशा भुसाल । आशा पछिल्लो समयका व्यस्त र चर्चित अभिनेत्री तथा मोडल हुन् । एक दशकदेखि मोडलिङ र अभिनय क्षेत्रमा सक्रिय आशा यतिखेर भने ‘भद्रगोल’मा निर्वाह गरेको ‘काली’ पात्रले चर्चित छन् । सिन्धुलीमा जन्मेर काठमाडौंलाई कर्मथलो बनाउँदै आएका आशाले मोडलिङबाट कलाकारितामा पाइला राखेका हुन् ।

डेढ सयभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेका आशाले ‘सुनपानी’, ‘झिँगे दाउ’लगायका आधा दर्जन नेपाली फिल्ममा अभिनय गरेका छन् । साथै, भोजपुरी फिल्म र केही हिन्दी गीतमासमेत मोडलिङ गरेका आशा भन्छन्, ‘कलाकार भएपछि हिन्दी, नेपाली र भोजपुरी भन्ने छैन । त्यसैले नेपालीदेखि भोजपुरी फिल्मसम्म गर्दै आएको छु ।’ मोडलिङ र फिल्मी अभिनयलाई एकसाथ अँगाल्दै आएका आशाले कलाकारितालाई ‘प्यासन’का रुपमा लिएका छन् । यिनै अभिनेत्री तथा मोडल आशा भुसालसँग दृष्टिको जम्काभेट :

आजभोलि के गर्दै हुनुहुन्छ ?
म्युजिक भिडियोहरु गरिरहेकी छु । साथै, टेलिफिल्म ‘भद्रगोल’मा पनि काम गरिरहेकी छु ।

‘भद्रगोल’मा तपाईंको कस्तो भूमिका छ ?
गाउँले युवतीको भूमिका गर्दै आएकी छु । यो टेलिफिल्म नै गाउँघरको कथावस्तुमा आधारित रहेको छ । कथाअनुसार ‘भद्रगोल’मा म कालीको भूमिकामा छु ।

अहिले तपाईंको हातमा फिल्म छैन ?
अहिले छैन । कुरा त चलिरहेको छ । निश्चित भएको छैन । तर, चाँडै फिक्स हुन्छ होला ।

त्यसो भए हिजोआज म्युजिक भिडियोमै व्यस्त हो ?
म्युजिक भिडियामै भन्नुपर्ला । त्यसबाहेक मेरो आफ्नो कम्पनी पनि छ । त्यसैले कम्पनीको कामहरु पनि हुन्छ ।

तपाईं घरको कामचाहिँ गर्नुहुन्छ कि हुन्न ?
फुर्सद भएको बेला घरको काम पनि गर्छु । खाना पकाउनेदेखि लुगा धुनेसम्म गर्छु ।

कलाकारितामै एक दशकभन्दा बढी विताइसक्नुभयोे । यहाँसम्म आउँदा कस्तो लागिरहेको छ ?
अहिलेसम्म रमाइलो नै लागिरहेको छ । आफूले रोजेर यो क्षेत्रमा लागेकी हुँ । त्यसैले खुसी नै छु ।

तपाईंले सोचेजस्तै लाग्दैछ त ?
सोचेजस्तै ठ्याक्कै त छैन । तर, कामहरु पाइरहेकी छु । यही क्षेत्रमा लागेर नामसँगै दर्शकको माया पाएकी छु । मिडियाको साथ र हौसला मिलेको छ । यही नै मेरो लागि ठूलो कुरा हो ।

अहिलेसम्म कति वटा फिल्म गर्नुभयो ?
नेपाली फिल्म ६ वटा गरेकी छु । त्यसबाहेक भोजपुरी फिल्म पनि दुईटा गरेकी छु । साथै, टेलिफिल्महरु पनि गर्दै आएकी छु ।

म्युजिक भिडियो त धेरै नै पुग्यो होला नि ?
म्युजिक भिडियो त गनेकै छैन । सुरुका दिनहरुमा गन्ती गरिन्थ्यो र थाहा हुन्थ्यो । अहिलेसम्म लगभग डेढ सय पुग्यो होला ।

तपाईंको प्राथमिकता भिडियो कि फिल्म ?
यही नै भन्ने छैन । मैले म्युजिक भिडियोबाट मोडलिङ सुरु गरेकी हुँ । त्यसैले अहिले पनि म्युजिक भिडियोलाई निरन्तरता दिँदै आएकी छु । म्युजिक भिडियो गर्दागर्दै फिल्मका लागि अफर आयो, त्यसपछि फिल्म गर्न थालेकी हुँ ।

सोचेजस्तै फिल्ममा भूमिका गर्न पाउनुभएको छ कि छैन ?
मेरो वास्तविक कला देखाउन पाएकी छैन । त्यसैले आशा भुसाल अभिनेत्री भनेर चिनिए पनि आशाको क्षमता कतिसम्म छ भन्ने कुरा दर्शकले देख्न पाएका छैनन् ।

आफूलाई फिल्ममा कस्तो भूमिका सुहाउँछ जस्तो लाग्छ ?

लभस्टोरी भुमिका गर्दा मलाई सुहाउँछ जस्तो छ । र, लभस्टोरीको भूमिकालाई न्याय गर्न पनि सक्छु भन्ने लाग्छ ।

तपाईं त्यस्तो ‘लभरगर्ल’ हुनुहुन्छ ?
लभरगर्ल जस्तै त छैन । तर, मेरो फेसमा सेन्टिमेन्ट र रोमान्टिक दुवै भाव झल्किन्छ ।

त्यसो त राम्री अर्थात सुन्दर पनि हुनुहुन्छ नि ?
त्यो त हेर्ने आँखामा भरपर्छ । म आफैंलाई चाहिँ खासै राम्री लाग्दैन । ठिकैकी छु जस्तो लाग्छ ।

आफ्नै लभस्टोरी भन्नुपर्दा ?
मेरो त्यस्तो खास लभस्टोरी नै छैन । काममै ध्यान दिने म जस्तो मान्छेको के लभस्टोरी हुन्छ र ?

अफेयर्स त होला नि ?
छैन । कुनै समय थियो । अहिले त सिंगल नै छु । आखिर मान्छेको जीवन नै यस्तै रहेछ ।

घरजम गर्नेबारे के सोच्दै हुनुहुन्छ ?
अहिलेसम्म त्यस्तो केही सोचेकी छैन । घरजम भन्ने कुरा सोचेर भन्दा पनि समय आएपछि हुने हो । त्यो समय आएकै छैन ।

प्रतिक्रिया दिनुहोस्