Logo
Logo

सेनाका जर्नेलहरुको सम्पत्ति खोई ?


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३१ भदौ । प्रधानसेनापति पूर्णचन्द्र थापाको यतिबेला सर्वत्र प्रशंसा भइरहेको छ । संस्थागत भ्रष्टाचारले जर्जर भएको मुलुकमा नेपाली सेना पनि त्यो रोगबाट अछुतो भएन । तर पछिल्लो पटक प्रधानसेनापति थापाले व्यापक सुधारको काम थालेपछि उनको प्रशंसा हुुनु स्वभाविक नै हो ।

सेनाको कमाण्ड सम्हालेको एक वर्षको अवधिमा उनले आफ्नो सम्पत्ति समेत सार्वजनिक गरेर पारदर्शीताको उदारण देखाएका छन् । देशका मन्त्रीहरुले समेत सम्पत्ति लुकाइरहेका बेला उनले भने सम्पत्ति सार्वजनिक गरेर सबैबाट वाहवाही कमाएका छन् । उनको यो कदमलाई उदारणीय भनिएको छ ।

यसरी बाहिरबाट प्रशंसा भइरहँदा सेनाभित्रैबाट भने प्रधानसेनापति थापा समस्यामा परेका छन् । वर्षाैदेखि संस्थागत रुपमा भ्रष्टाचार गर्दै आएका उच्च सैनिक अधिकारीहरुले भने उनको अभियानमा असहयोग गरेका छन् ।

कतिसम्म भने सम्पत्ति सार्वजनिक गर्ने प्रधानसेनापति थापाको अभियानमा समेत उनीहरुले साथ दिएका छैनन् । प्रधानसेनापतिले स्वेच्छिक भनेपनि सार्वजनिक रुपमा गरेको आग्रहलाई सुरक्षा निकायमा त्यसलाई निर्देशनका रुपमा बुझिन्छ । तर, प्रधानसेनापतिको निर्देशनलाई सेनाभित्रै अवज्ञा गरिएको भनेर चर्चा हुन थालेको छ ।

हरेक आर्थिक वर्षको दुई महिनाभित्र राष्ट्रसेवकहरुले सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ । प्रधानसेनापति थापाले सम्पत्ति वेभसाइटमार्फत सार्वजनिक गर्न अन्य सैनिक अधिकारीलाई समेत आह्वान गरेका थिए । तर, यो अभियानमा उनीहरुले प्रधानसेनापतिलाई असहयोग गरेका छन् । सम्पति सबै सार्वजनिक गर्दा प्रश्न उठ्ने र लुकाएर सार्वजनिक गर्दा पनि अनुसन्धान भएमा फस्ने डरले सैनिक अधिकारीहरुले चिफको आदेश नमानेका हुन् । कतिसम्म भने रथीद्वय शरद गिरी र गौरव तन्डुलले समेत सम्पति सार्वजनिक गरेका छैनन् ।

गत मंगलबार २५ पृष्ठ लामो भाषण गरेका थापाले पैसा कमाउनतर्फ लाग्नेहरुलाई राजिनामा दिएर सम्मानजनक वर्हिगमनको बाटो रोज्न भन्दै कडा सन्देश दिएका छन् । रासनको ठेक्कामा अनियमितता गर्नेलाई पनि जागिरबाट हटाउने चेतावनी उनले दिएका छन् । जसकारण भ्रष्ट सैनिक अधिकृतहरुको छटपटी सुरु भएको छ । त्यही भ्रष्ट समूह सेनापतिसँग रुष्ट बनेको छ ।

प्रतिक्रिया दिनुहोस्