Logo
Logo

राप्रपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने


5.5k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा तत्कालका लागि सहभागी नहुने भएका छन् ।

यी दुई पार्टीले सरकार गठनका लागि समर्थन गरे पनि तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेका हुन् । दुवै पार्टीले सरकारलाई समर्थन गर्ने तर सरकारमा नजाने निर्णय गरेका छन् ।

आइतबार साँझ बसेको राप्रपाको बैठकले सरकार गठनका लागि समर्थन गर्ने तर सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । सोमबार नयाँबानेश्वरमा सत्ता गठबन्धनको बैठकपछि प्रतिक्रिया दिँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने– ‘सरकार गठनमा हाम्रो समर्थन छ । तर, हामी सरकारमा सहभागी हुँदैनौं । आगामी दिनमा छलफल गरेर यस विषयमा थप निर्णय गर्नेछौँ ।’

त्यसैगरी, नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी नहुने भएको छ । जेलमा रहेका रेशम चौधरी लगायतको रिहा माग गर्दै आएको उन्मुक्तिले पनि सरकारलाई समर्थन गर्ने तर सरकारमा नजाने निर्णय गरेको हो ।

पार्टीका संरक्षक रेसम चौधरी रहेको डिल्लीबजार कारागारमा सम्पन्न नागरिक उन्मुक्तिको बैठकले सरकारलाई समर्थन गर्ने तर सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

प्रचण्ड नेतृत्वको सरकारमा तत्कालका लागि एमाले, माओवादी, रास्वपा र जनमत पार्टी सहभागी हुने निश्चित भइसकेको छ । सरकारलाई समर्थन गरेको अर्को दल जसपाले भने सरकारमा सहभागी हुने या नहुने भन्ने टुङ्गो लगाएको छैन ।

प्रतिक्रिया दिनुहोस्