५ पुस २०७७ । तत्कालीन प्रधानन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको दिन । एउटा सनकमा भएको उक्त निर्णयले कठ्याङ्ग्रिँदो मध्य जाडोमा उधुम गर्मी भयो । र, त्यो गर्मीलाई ‘प्रतिगमन’ भनियो ।
पुस ५ को तरङ्गले नेकपामात्र विभाजन भएन, एमाले पनि दुई टुक्रा भयो । र, एमाले इतरको पाँचदलीय गठबन्धन बन्यो । सँगै, संघ र प्रदेश सरकारबाट एमाले ‘क्लिनस्वीप’ भयो । त्यसको तरंग पछिल्लो आमनिर्वाचनसम्म आइपुग्यो ।
‘प्रतिगमनविरुद्ध संघर्ष’को नाममा ठ्याक्कै दुई वर्ष अर्थात् १० पुस २०७९ सम्म घम्साघम्सी चल्यो । तर, बालुवाटारमा पलाएको घमण्डले एक घण्टामा प्रतिगमन सच्यायो !
पछिल्लो दुई वर्षको अपेक्षित संघर्षमा तत्कालीन नेकपाका एक अध्यक्ष तथा हाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुख्य भूमिकामा रहे । ओलीलाई सत्ताच्युत गर्ने, रुखको छहारीमा शीतल तापेर बसेका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री थमाउने, एमाले विभाजन गर्न मावधकुमार नेपाललाई हिम्मत दिने र पछिल्लो निर्वाचनमा एमालेलाई पहिलो पार्टी बन्न रोक्ने प्रचण्ड नै थिए ।
यस अर्थमा प्रचण्ड पछिल्लो दुई वर्षको राजनीतिक घटनाक्रममा एक्लो खेलाडी बने । जसले जे सोच्यो त्यही हुने परिस्थिति बन्यो । अन्ततः निर्वाचनपछि पनि प्रचण्डले सोचेकै भयो । र, अन्जानमा मध्यावधि नभए अबको पाँच वर्ष यस्तै भूमिकामा रहलान् । तर…
प्रतिगमन ओलीकृत थियो । तर, संघर्षका कारण केन्द्रबिन्दुमा प्रचण्ड रहे । ओलीबाट खोसिएको सत्ता हात पारेका हिसाबले प्रतिगमन विरोध मोर्चाको कमान्डरका रुपमा देउवा देखिए । तर, त्यसको डिजाइनर प्रचण्ड नै थिए । प्रचण्ड जसोजसो मुभ भए देउवाले उसैउसै कदम चाले ।
परिस्थिति सधैँ एकनासको हुँदैन । अब, ओली जसोजसो मुभ हुन्छन् प्रचण्ड उसैउसै कदम चाल्ने समय आयो । किनकि, हालका लागि ‘किङमेकर’को भूमिकामा ओली देखिए । घोर प्रतिगमनकारी आरोप लगाउने प्रचण्डलाई बालुवाटारबाट बालकोट बोलाएर प्रधानमन्त्री बनाइदिए ।
संसदीय अभ्यासमा मन्त्री–प्रधानमन्त्री बन्नु सामान्य मान्नुपर्छ । तर, कुन धरातलमा को कसरी बन्यो भन्ने महत्वपूर्ण हुन्छ । बाध्यता जस्तोसुकै भएपनि यसपटक प्रचण्ड अनैतिक धरातलमा प्रधानमन्त्री बनेका छन् । जुन प्रचण्डबाट अपेक्षा गरिएको थिएन ।
एमालेसँग मिलेर प्रचण्ड प्रधानमन्त्री बन्नु हुँदैन्थ्यो वा हुँदैन भन्ने होइन । कांग्रेससँग सहकार्य तोड्नु हुँदैनथ्यो भन्ने पनि होइन । बहुदलीय व्यवस्थामा दलहरूबीच नयाँ–नयाँ गठबन्धनहरू बन्नु र सहकार्य हुनु सुखद् मानिन्छ । तर, अहिले एमाले–माओवादीको सम्बन्ध त्यस्तो अवस्थामा छैन ।
एमाले–माओवादी एक भएर पनि छुटेका पार्टी हुन् । सुखको पलमा एकताको कारण नखोजिए पनि दुःखको बेला बिछोडको कारण खोजिन्छ । तर, आजसम्म ऐतिहासिक एकताबाट बनेको अभूतपूर्व ‘नेकपा’ विभाजनको कारण खोजिएको छैन । त्यसको उचित समीक्षा भएको छैन ।
महाधिवेशनको डकुमेन्टमै प्रचण्डले ओलीलाई प्रतिगमनकारी भने । ओलीकै कारण नेकपा विभाजन भएको निष्कर्ष निकाले । एमालेलाई पश्चगमनकारी शक्ति भने । र, एमाले अझ ओलीबाट अझै प्रतिगमनको खतरा रहेको भन्दै अस्तिको दिनसम्म प्रचण्डले भाषण गरे । तर, मिराकल– घोर प्रतिगामी ओली र अति क्रान्तिकारी प्रचण्डबीच कसरी सहकार्य सम्भव भयो ? यो प्रश्नको जवाफ प्रचण्डले दिनुपर्छ ।
ताजा जनमत आइसकेको बेला परिस्थिति फरक बनेको भएपनि ‘ओली प्रतिगमन’ न्यायालयले पनि पुष्टि गरेको कुरा हो । यो फगत आरोप नभएर पुष्टि भइसकेको कुरा हो । तर, राजनीतिक रूपमा यो घटनाको अर्थ र असर लामो समयसम्म रहन्छ ।
एमाले–माओवादी सहकार्य आकस्मिक थियो । तर, त्यो आकस्मिकता प्रचण्डका लागि बाध्यकारी थिएन । प्रचण्डले प्रधानमन्त्रीका लागि मरिहत्ते नगरेको भए आज यसरी प्रश्न गर्ने अवस्था आउने थिएन । तर, जसरी पनि प्रधानमन्त्री बन्ने प्रचण्डको चाहनामा आज प्रतिगमन सच्चियो !
राजनीतिको उच्चतम विन्दु सत्तालाई मान्दा जसरी पनि प्रधानमन्त्री हुनु प्रचण्डको सफलता मान्नुपर्ने हुन्छ । तर, नैतिकताको धरातलमा उभिएर हेर्दा योभन्दा स्खलित हुने ठाउँ प्रचण्डसँग छैन । आज प्रधानमन्त्रीको रुपमा अथाह बधाई थापिरहेका प्रचण्डलाई आनन्दको निद्रा परेको होला त ?
जनयुद्धको बलमा स्थापित व्यवस्था मास्न खोज्ने ओली, ऐतिहासिक उपलब्धि मानिएको कम्युनिष्ट एकता भंग गर्ने ओली । यी दुई कुरा हामीले भन्ने कुरा होइन । प्रचण्डले डकुमेन्टमा लेखेका छन्, दर्जनौँ मञ्चमा भाषण गरेका छन् । तर, आज प्रचण्डले ती कुरा किन सम्झेनन् ? प्रधानमन्त्री बन्ने रनाहामा सबथोक भुलेका हुन् ?
एमालेसँग पुनः एकता सम्भव छ । सहकार्य पनि सम्भव छ । तर, त्यस अगाडि विगतका संगीन कदम र आरोपहरूको ठीक ढङ्गले व्यवस्थापन हुन आवश्यक थियो । अहिले पनि निकट विगत असरल्ल छ । यस्तो अवस्थामा कसरी सम्भव भयो एमालेसँगको सहकार्य ? सायद यो प्रश्नको जवाफ प्रचण्डसँग पनि छैन ।
ओलीलाई भित्तामा पुर्याएँ, बालुवाटारबाट बालकोटको बार्दली पुर्याएँ भन्दै प्रचण्डले भाषण गरेका भिडियोहरू अझै पनि सुन्न सकिन्छ । ‘प्रतिगामी होसियार’ भन्दै ओलीलाई औंला ठड्याएको भिडियोहरू पनि हेर्न पाइन्छ । के ती प्रचण्ड हुँकारहरु असामन्य अवस्थाका थिए ?
‘जसको नीति उसको नेतृत्व’ भन्ने सन्दर्भलाई मान्दा प्रचण्डले देशको नेतृत्व गर्न खोज्ने असङ्गत हुँदैन । तर, जनमतले प्रचण्डलाई देशको नेतृत्व गर्ने म्यान्डेट दिएका छैनन् । आज सत्रपटक सम्झँदा पनि उत्तर नभेटिने प्रश्न– के कुराले प्रचण्डलाई प्रधानमन्त्रीका लागि मरिहत्ते गर्न बाध्य तुल्यायाे ?
विगत हेर्दा प्रचण्ड सत्ताका लागि मरिहत्ते गर्ने लोभीपापी पात्र होइनन् । सामान्य अवस्थामा पहिलो कार्यकालको प्रधानमन्त्री त्यागे । पूर्वसहमतिअनुसार दोस्रो कार्यकालमा सहजै देउवालाई सत्ता हस्तान्तरण गरे । यसरी हेर्दा सत्ताकै सवालमा प्रचण्डको विगत सम्मान योग्य नै छ । तर, यसपटक त्यस्तो के आइलाग्यो ?
प्रचण्डलाई थाहा छ– यसपटकको जनमत ठीक छैन । यस्तो जनमतमा बन्ने सरकारको नेतृत्व गरेर उपलब्धि केही हुँदैन भन्ने पनि थाहा छ । अनेक झुण्डहरूको नेतृत्व गरेर प्रधानमन्त्री बनेका प्रचण्ड स्वयंलाई पनि केही गर्न सकिन्न भन्ने लागेकै हुनुपर्छ । किनकि त्यतिसम्म बुझ्न सक्ने नेतृत्व हुन्, प्रचण्ड । तर पनि के कुराले बाध्य बनायो प्रचण्डलाई ?
प्रचण्डलाई थाहा छ– एमाले रहँदासम्म माओवादीको भविष्य संकटमै रहन्छ । थाहा हुँदाहुँदै, सत्ता विहीनतासँगै कमजोर बन्दै गरेको एमालेलाई काँध हाल्न किन पुगे प्रचण्ड ? एमाले बलियो भए माओवादी पनि बलियो हुन्छ भन्ने भ्रम त पक्कै होइन ।
प्रचण्डलाई हेक्का हुनुपर्छ । आज प्रचण्डबाट भएको सानो गल्तीको फल दुई वर्षपछि एमालेले देशका सबै संरचनामा कब्जा जमाउने छ । त्यस्तो अवस्थामा माओवादीको हाल के हुन्छ ? त्यतिखेरै प्रचण्डले थाहा पाउनेछन् । ओली को हुन् भन्ने त प्रचण्डलाई राम्रै थाहा हुनुपर्ने हो ।
नेपाली राजनीतिको एउटा विकृत भाष्य– ‘राजनीतिमा जे पनि सम्भव हुन्छ’ अर्थात्, नैतिक–अनैतिक सबै सम्भव मानिन्छ । र, यस्तै नै हुँदै आएको छ नेपालको राजनीतिमा । असम्भव मानिएका कुराहरू अनपेक्षितरूपमा सम्भव हुँदै आएका छन् । आज, आफैँले घोर प्रतिगामी भनेको शक्ति एमालेको शरणमा परेर प्रचण्ड प्रधानमन्त्री हुनुले यही कुरा पुष्टि गरेको छ ।
आज प्रचण्डलाई प्रश्न गर्नुपर्छ– संविधान मास्ने काम प्रतिगमन थियो कि थिएन ? नेकपा विघटन गर्ने काम कम्युनिष्ट आन्दोलन नै विघटन गर्ने चाल थियो कि थिएन ? अनि, यी दुवै कदमको नेतृत्वकर्ता प्रतिगमनकारी थिए कि थिएनन् ? बालकोटको बार्दलीबाट हात हल्लाएसँगै प्रतिगमन सच्चिएको हो ?