Logo
Logo

गुप्तचर टोलीबाट प्रहरी बदनाम


15.5k
Shares

काठमाडौं । एउटा गलत निर्णयबाट संगठन कति पीडित बन्छ भन्ने कुरा नेपाल प्रहरीमा देखिएको छ । चलखेलका आधारमा राष्ट्रिय अनुसन्धान विभागबाट केही अधिकारीलाई नेपाल प्रहरीमा ल्याउँदा वर्षौँदेखि प्रहरी संगठन बदनाम भइरहेको छ ।

जिल्ला प्रहरी प्रमुखमा कार्यरत रहेका एसपी रामेश्वर यादब बर्दी फुकालेर जेल जानु पर्ने अवस्था आएको छ । ८ वर्षअघि बुटवल घुसकाण्डमा मुछिएका यादवलाई गत साता सर्वाेच्चले दोषी ठहर गरेको हो । बहालवाला एसपी यसरी भ्रष्टाचारमा दोषी ठहर भएपछि संगठनकै बेइज्जत हुन पुगेको छ । प्रहरी प्रधान कार्यालयले उनलाई बर्खास्तीको प्रक्रिया अघि बढाएको छ ।

सर्वाेच्च अदालतले उनलाई चार महिना कैद र एक लाख जरिवानाको सजाय सुनाएको हो । यसअघि बिशेष अदालतले उनलाई सफाइ दिएको थियो । एसपी यादब सधैंभरी भ्रष्टाचारमा मुछिदै आएका अधिकृत हुन् ।

रुपन्देहीमा डिएसपीका रुपमा कार्यरत रहँदा उनले एक लाख रुपैयाँ घुस लिएका थिए । यादव माघ २०६८ देखि असोज २०६९ सम्म रुपन्देहीमा प्रहरी नायव उपरीक्षकका रुपमा कार्यरत थिए । जसक्रममा ८ चैत २०६८ मा राति ८ बजे अञ्चल प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले सतिश प्रधानसहितका ३ जनालाई १३ ग्राम लागूऔषधसहित पक्राउ गरेको थियो । उनीहरुलाई छाड्न डिएसपी यादबले घुस लिएका हुन् ।

उनी धेरै पटक कारबाहीमा परिसकेका अधिकृत हुन् । तीन वर्षअघि पनि प्रहरी प्रधान कार्यालयले उनलाई निलम्बन गरेको थियो । कर्णाली प्रदेशको ट्राफिक प्रहरी प्रमुखका रुपमा कार्यरत रहँदा उनले मातहतकै पैसा उठाउने गरेका थिए । जसमा उनी र एसपी विमल बस्नेतलाई निलम्बन गरी कारबाही गरिएको थियो । पछि कांग्रेस नेता महेन्द्र यादबलाई आर्थिक प्रभावमा पारी सिन्धुपाल्चोक गएका हुन् । तर, तत्कालिन आइजिपी शैलेश थापा क्षेत्रीले ६ महिनासम्म रोके । अन्तिममा केही नलागेपछि उनले सरुवा गरेका थिए ।

एसपी यादब जस्तै भ्रष्ट प्रवृत्तीका धेरै प्रहरी अधिकारी नेपाल प्रहरीमा छन् । गुप्तचरबाटै आएका श्याकृष्ण अधिकारी त्यस्तै स्वभावका मानिन्छन् । उनी पनि आर्थिक चलखेलकै आधारमा १६ महिना बाँके बसेर फेरि इन्चार्जमै सरुवा भएका छन् । उनलाई लुम्बिनी प्रदेशको ट्राफिक प्रहरी प्रमुखमा सरुवा गरिएको छ ।

गुप्तचर टोलीकै सिद्धिबिक्रम शाह रौतहटमा हुँदा पत्रकारलाई लागूऔषध मुद्दामा फसाइएकोमा कारबाहीमा परेका थिए । धनुषा पठाइएका एसपी विश्वराज खड्का पनि पटक पटका कारबाही भोगेका अधिकृत हुन् ।

यही टोलीका ओमबहादुर राना, संजीव शर्मा दास, टिका केसी, वामदेव गौतम, केदार खनाल, टिका घिमिरे, बिनोद घिमिरे लगायत पटक पटक कारबाहीमा परेका छन् । तर, उनीहरुले नै अवसर पाउँदै आएका छन् ।

यो टोलीमा केही राम्रा अधिकृत भएपनि अधिकांशको ध्यान पैसा कमाउने बाहेक छैन । राजनीतिक पावरकै आधारमा गुप्तचरमा भर्ना भएकाले पहुँच पनि भएकाले सरुवा–बढुवामा उनीहरुकै हालिमुहाली छ । उनीहरुको कारण एकातर्फ संगठनको छवी बिग्रिएको छ भने अर्काेतर्फ नेपाल प्रहरीका इमान्दा अधिकृतमाथि अन्याय भएको प्रहरी स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्