Logo
Logo

रवि लामिछाने गृहमन्त्री बनेपछि प्रहरीमा तरंग


23.4k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेपछि प्रहरीमा हलचल मच्चिएको छ । गैरराजनीतिक पृष्ठभूमिका लामिछाने गृह प्रशासनको नेतृत्वमा आएपछि प्रहरी प्रशासनलाई उनले कसरी परिचालन गर्छन् भन्ने कौतुहलता देखिएको छ ।

लामिछाने तीन वर्षअघि प्रहरीबाटै षडयन्त्रपूर्वक थुनिएका थिए । त्यतिबेला सर्वेन्द्र खनाल आइजिपी थिए । चितवनका तत्कालिन एसपी दानबहादुर मल्लले उनलाई थुनामा राखेका थिए । आफुविरुद्ध प्रहरीले सुनियोजित रुपमा आत्महत्या दुरुत्साहन मुद्दा दायर गरिएको उनको आरोप थियो । अहिले उनै लामिछाने प्रहरीलाई कमाण्ड गर्ने ठाउँमा पुगेका छन् । अर्काेतर्फ उनीमाथि नै फर्जी नागरिकताको विषय प्रहरीको अनुसन्धानमा छ ।

राजनीतिमा लागेको ६ महिनामै उनी उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी पाउन सफल भएका छन् । पत्रकारिकतामा हुँदा उनले भ्रष्टाचारविरुद्ध चर्काे आवाज उठाएका थिए । सोही लोकप्रियताका आधारमा उनी राजनीतिमा छोटो समयमै सफल भएका हुन् । अब कुर्सीमा बसेर सुधार गर्ने ठाउँमा उनी पुगेका छन् ।

भनिन्छ, बोल्न सजिलो छ तर, गरेर देखाउन धेरै गाह्रो छ । लामिछाने त्यही परीक्षामा छन् । उनले कसरी काम गर्छन् भन्ने विषय प्रतिक्षाको विषय बनेको छ । ‘गृह प्रशासनमा सुधार गर्न सकिने विषय धेरै छन्,’ गृहका एक अधिकारी भन्छन्,‘उनले कर्मचारी र प्रहरीलाई कसरी परिचालन गर्न सक्छन् त्यो महत्वपूर्ण छ ।’ त्यसो त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि संगठनमा सुधार गर्न खोज्ने ‘ड्यासिङ पर्सनालिटी’ भएका अधिकृत मानिन्छन् । त्यसकारण उनलाई काम गर्न सहज हुन सक्छ ।

राजनीतिक हस्तक्षेपले अस्तव्यस्त बनेको प्रहरीलाई लामिछानेले सही ढंगले परिचालन गर्न सके उनी सफल गृहमन्त्री हुने एक उच्च प्रहरी अधिकारी बताउँछन् । हाल सरुवा बढुवाका लागि प्रहरी अधिकारी नेताको घरदैलो धाउनुपर्ने बाध्यतामा छन् । त्यही कारण प्रहरीमा खराब अधिकृतहरुको बोलवाला पनि छ । यदि, लामिछानेले क्षमताका आधारमा मुल्याङकन गरेर जिम्मेवारी दिने परिपाटी बसाल्न सकेमा उनी सफल हुनेछन् । प्रहरीलाई सिष्टममा बसाउन सके र राजनीतिक हस्तक्षेपबाट संगठन जोगाउन सके उनी त्यसै सफल हुन्छन् ।

सिडिओ सरुवामा पनि त्यस्तै बेथिति छ । सिडिओ सरुवामा बिचौलियाहरू हाबी हुने गरेका छन् । जसकारण अवैध धन्दामा सिडिओह ज्ञ मुकदर्शक बन्ने गरेका छन् । उनले निष्पक्षताका साथ सिडिओ परिचालन गर्न सके गृह प्रशासनमा सुधार हुनेछ । भिजिट भिसाको सेटिङ तोड्नुपर्ने चुनौती पनि लामिछानेका सामु छ ।

सीमा सुरक्षाको जिम्मेवारीमा रहेको सशस्त्र प्रहरी स्रोत साधन विहिन छ । सीमा सुरक्षालाई बलियो बनाउन कानून तथा स्रोत साधनले बलियो बनाउन आवश्यक छ । राष्ट्रियतासँग जोडिएको यो विषयमा उनले तत्कालै केही काम गर्न सके सकारात्मक सन्देश जाने छ ।

लामिछानेसँग सत्ता संचालनको अनुभव छैन भने पनि हुन्छ । तर, असल नियतले काम गर्ने हो भने गृह मन्त्रालय मातहत काम गर्ने धेरै ठाउँ छन् । जुन लामिछानेका लागि राजनीतिमा स्थापित हुने अवसर बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्