जनकपुरधाम । धनुषामा पछिल्लो चार महिनामा अवैधरूपमा काठ चोरी निकासी गर्ने सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।
डिभिजन वन कार्यालय जनकपुरधाम धनुषाले दिएको जानकारीअनुसार अवैधरूपमा काठ ओसारपसार र चोरी निकासीको आरोपमा चार महिनामै सात मुद्दामा करिब ५० क्युफिट काठसहित आरोपीलाई पक्राउ गरिएको हो।
कार्यालयका प्रमुख वन अधिकृत बेचन चौधरीले भदौयता अवैधरूपमा काठ चोरी निकासी गर्नेलाई पक्राउ गरी चारवटा मुद्दा दर्ता गरिएको र तीनवटा दर्ता प्रक्रियामा रहेको जानकारी दिए। अवैध काठ चोरी निकासीको आरोपमा पक्राउ पर्नेमा धेरैजसो मिल मालिक रहेको उनले जानकारी दिए।
‘चार महिनामा सात घटनामा संलग्नलाई पक्राउ गरेका छौँ, अरुमाथि निगरानी बढाएका छौँ’, उनले भने, ‘विभिन्न कठिनाइका बाबजुद वन संरक्षण र चोरी निकासी नियन्त्रणका लागि हामी नयाँ रणनीतिसहित अगाडि बढेका छौँ।’, प्रमुख वन अधिकृत चौधरीले चोरी निकासी नियन्त्रण गर्न सबैको सहयोग जरुरी रहेको बताए। यी मुद्दामा एउटा ट्र्याक्टरसहित करिब ५० क्युफिट काठसमेत बरामद गरेको उनले जानकारी दिए।
सामुदायिक वन उपभोक्ता महासंघ धनुषाका अध्यक्ष चन्द्र चौधरी महासंघले वन तथा वन पैदावारको संरक्षण गर्न समुदायमा सचेतना अभिवृद्धि र चोरी निकासी नियन्त्रणका लागि सधैँ सहयोगी भूमिका निर्वाह गरिरहेको बताए। ‘वन क्षेत्र विस्तार तथा अतिक्रमित क्षेत्र फिर्तालगायतका काममा वन कार्यालयले नेतृत्व गरोस् भन्ने हाम्रो चाहना हो’, उनले भने।
धनुषा मधेश प्रदेशअन्तर्गतका आठ जिल्लामध्ये सबैभन्दा कम वन क्षेत्र भएको जिल्ला हो। यो जिल्लामा कुल क्षेत्रफल (एक लाख १८ हजार ३०० हेक्टर) को २३.३१ प्रतिशत अर्थात् २७ हजार पाँच सय ७८.६ हेक्टर वन क्षेत्र छ। त्यसमध्ये आठ सय ७२ हेक्टर अतिक्रमण भइसकेको डिभिजन वन कार्यालय धनुषाको विवरण छ।
‘अतिक्रमण र चोरी निकासी यहाँको वन संरक्षणका लागि मुख्य समस्या हो’, प्रमुख वन अधिकृत बेचन चौधरीले भने, ‘४० वर्ष अघिदेखि पटक–पटक गरी आठ सय ७२ हेक्टर वन अतिक्रमण भएको छ। दुई हजार एक सय ६२ परिवारले त्यो भूमि अवैधरूपमा उपभोग गरिरहेका छन्।’
थप अतिक्रमण हुन नदिन उच्च सतर्कतासहित डिभिजन वन कार्यालयले काम गरिरहेको उनको भनाइ छ।