Logo
Logo

आशा गरिएका विष्णुबाट अर्थतन्त्र सुधारको अपेक्षा


1.7k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएको नेकपा एमालेले देशको ढुकुटी चलाउने अर्थमन्त्रालय आफूसँग राखेको छ ।

एमालेले अनुभवी र विगतमा अर्थमन्त्रीको रुपमा सकारात्मक भूमिका खेलेका विष्णु पौडेललाई उक्त मन्त्रालय जिम्मा लगाएको छ । प्रचण्डले सोमबार गठन गरेको मन्त्रिपरिषद्मा पौडेलले उपप्रधानसहित अर्थमन्त्रीको रुपमा शपथ लिएर कार्यभार सम्हाल्दै काम अघि बढाएका छन् ।

एमाले र माओवादी एकता भइ बनेको नेकपाको महासचिव बन्ने ऐतिहासिक अवसर पाएका पौडेल यसअघि ६ पटक मन्त्री भइसकेका छन् । ६ पटक मन्त्री हुँदा उनले तीन पटक त अर्थ मन्त्रालय नै सम्हालेका थिए । यसपटक मन्त्रीको रुपमा सातौं र अर्थमन्त्रीको रुपमा चौंथो कार्यकाल सम्हालेका हुन् ।

पौडेलको मन्त्री यात्रा
विष्ण पौडेल सबैभन्दा पहिला २०५३ चैत्र १२ देखि २०५४ असोज १० सम्म युवा, खेलकुद तथा संस्कृतिमन्त्री भएका थिए ।

त्यस्तै, २०६५ भदौं ६ देखि २०६६ जेठ ७ सम्म उर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीका रुपमा काम गरेका उनले २०६७ चैत्र ३ देखि २०६८ भदौ ११ सम्म रक्षामन्त्रीको रुपमा काम गरे ।

त्यसैगरी, २०७२ कात्तिक १९ देखि २०७३ साउन १९, २०७७ असोज २८ देखि २०७८ बैशाख ३१ सम्म र २०७८ जेठ १ देखि २०७८ असार २९ सम्म अर्थमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका छन् ।

उनी २०७९ पुस ११ गते चौथो पटक अर्थमन्त्री नियुक्त भएका छन् । उनी यसअवधिमा तीपटक उपप्रधानमन्त्री समेत भइसकेका छन् ।

अर्थमन्त्रीका रुपमा पौडेलका चुनौतीहरु
पछिल्लो पटक अर्थमन्त्री हुँदा उनले बजारमा सकारात्मक प्रभाव छाडेका छन् । शक्तिशाली सरकारको अर्थमन्त्री भएका पौडेल यसपटक भने कमजोर सरकारको अर्थमन्त्री भएका छन् ।

कोरोनाका कारण विश्व अर्थतन्त्रमा छाएको मन्दी र त्यसको प्रभाव नेपालमा समेत परेको छ । कोरोनापछि पनि निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा र गर्भनर महाप्रसाद अधिकारीबीच उत्पन्न असहज परिस्थितिका कारण अर्थतन्त्र सकारात्मक छैन । यस्तो अवस्थामा अर्थमन्त्रालय सम्हालेका पौडेललाई सहज छैन ।

राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्दा पौडेलले अर्थ मन्त्रालय छाड्ने बेलाभन्दा अहिलेका सूचकांक बढी नकारात्मक देखिएका छन् । अर्थतन्त्र नाजुक अवस्थामा पुगेको मानिन्छ ।

निवर्तमान अर्थमन्त्रीले बजेट ल्याउने क्रममा करको नीतिहरुमा गरेको हेरफेरका कारण अर्थतन्त्र खजमजिएको छ । चालू आर्थिक बर्षको बजेटपछि सरकारले चालुखर्चको लागि पनि ऋण लिन पर्ने अवस्था रहेको मानिन्छ ।

यसको समाधानका लागि पनि काम गर्नुपर्ने चुनौती पौडेलमाथि छ । बाह्य क्षेत्रको दवाव कम गर्न, बढीरहेको मूल्यवृद्धिलाई कम गर्न र व्याजदरलाई एकल अंकमा झार्नु पौडेलको अर्को चुनौती हो ।

चालु पुँजी कर्जाका कार्यविधिका कारण समस्या आएको भन्दै व्यापारी आन्दोलनमा छन् । आयातमा नगद मार्जिन राखेको भन्दै अटो व्यवसायीहरु पनि आन्दोलनमा छन् । करिव ८ प्रतिशतको हाराहारीमा मूल्यवृद्धि हँुदा अर्थतन्त्रमा ठूलो असर परेको छ ।

नेपालको अर्थतन्त्रमा यस्ता धेरै समस्या देखा परेका छन् । यी समस्याहरु समाधान गर्दै अर्थतन्त्रमा सुधार ल्याउन सके अर्थमन्त्रीको रुपमा उनको चौथो कार्यकाल सफल हुने देखिन्छ ।

सेयर बजारमा हरियो संकेत
विष्णु पौडेल अर्थ प्रवेशको चर्चासँगै सेयर बजारमा सकारात्मक संकेत देखिएको छ । उनले अर्थ मन्त्रालय सम्हाल्ने कुराकै दिन सेयर बजार थोरै उकालो लाग्यो ।

विगत हेर्दा पौडेल अर्थमन्त्री हुँदा शेयरबजारमा हरियाली छाएको भेट्न सकिन्छ । यस आधारमा अर्थमन्त्रीको रुपमा विष्णु पौडेलको कार्यकालमा नेपालको अर्थतन्त्रमा सुधार आउन सक्ने लगानीकर्ताले आशा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्