Logo
Logo

मेरो मनमा एउटा पूर्वाभास


7.5k
Shares

जीवन यात्रामा एउटा मोड काट्यो, अर्को मोड देखापर्छ । माले प्रवेश गरिसकेपछिका दिनहरु फेरि छिटछिटो घुम्न थाले– फिल्ममा रील घुमे झैं । धेरै काम गरौं र नेतृत्वमा महिलालाई पुर्याउ भन्ने सोच अनुसार नै काम हुँदैथियो ।

म पुरै खुल्ला भैसकेकी थिएँ र पुरा जिम्मेवारी लिएर अघि बढिसकेकी थिएँ, आइलागेका जस्तै काम पनि सम्पन्न गराई छाड्ने मानसिकतामा थिएँ । जिम्माहरु पनि निरन्तर बढ्दै थिए ।

हाम्रो सैद्धानतिक कक्षा पनि बिस्तारै अगाडि बढ्यो । प्रशिक्षकलाई भने समयमा पुग्न भ्याई नभ्याई हुने रहेछ, भक्तपुरमा अस्पतालको काम भ्याएर आउनुपर्ने, कहिले ढिलो कहिले हामी पर्खेको पर्ख्यै गरी फर्किनुपर्ने हुन्थ्यो ।

अहिले जस्तो फोनको सुविधा थिएन । कहिले चित्त बुझ्दैनथ्यो, कहिले भने डाक्टर भएकोले नभ्याएको भनेर चित्त बुझाउँथेँ । अरु साथीलाई पनि बिस्तारै बानी पर्दै गयो ।

कक्षामा दर्शन बाहेक अन्य समसामयिक कुरा पनि अलिअलि हुने नै भयो । एकदिन नारी समस्याको सन्दर्भमा गृहिणीहरुका समस्याका कुरा आउँदा प्रशिक्षक भावुक भएर भन्न थाले– ‘गृहिणीहरु खाना पकाउन भातभान्छामा नै जीवन दिन्छन् । तर उनीहरुले नै झन् सबैभन्दा पछि खानुपर्छ । र आफु खानेबेला सबै सिद्धीईसकेको हुन्छ । दाल पकाएको भाँडोमा पानी मिसाएर खानुपर्छ…।’

भेटघाट भयो । कुरा सकिएन । फेरि भेटघाट भयो र कुराकानी लम्बिन थाल्यो । भेटघाटमा समय दिन थाले, उनको व्यस्तता मलाई थाहा थियो । त्योसँगै मेरो मनमा एउटा पूर्वाभास हुन थाल्यो ।

प्रशिक्षक भएर आएका डाक्टरको मुखबाट यस्तो कुरा सुन्दा लाग्यो– ‘यो डाक्टरलाई महिलाले भोग्नुपर्ने मसिना समस्याबारे पनि एकएक थाहाहुँदो रहेछ’ । यो मान्छे महिलाप्रति साँच्चै संवेदनशील रहेछ भन्ने थाहा भयो ।

साथी अष्टलक्ष्मी गाउँ गएपछि सबभन्दा नजिककी एकजना साथी घटेको अभाव महशुस भैरहेको थियो । यद्यपि, अरु साथीहरु थपिदै पनि थिए । र पनि मन भित्रका कुराहरु सबै कुरा सबैसँग गर्न सकिँदैन थियो ।

त्यहीबेलातिरै अस्टलक्ष्मी विरामी भएर काठ्माण्डौं आइन् । उनलाई लुकाउने जिम्मा फेरि पनि मेरै थियो, केही समय अघि म भूमिगत भएर बसेकै ठाउँमा साथी जमुना र बहिनीहरुको साथ राममाया आमाको डेरामा लगेर राख्ने काम भयो । उनलाई डाक्टर देखाउने र उपचारको काम पनि भयो ।

एउटा समयको अन्तरालपछिको भेटमा उनमा ठूलै परिवर्तन देखें । समयको केही खुड्किला पार गरेर साहसपूर्वक गाउँ पुगेकी साथी । नेता अमृत बोहराको साथ उनकै नजिकको गाउँ पिस्करमा जनतासँग एकाकार भएर बस्न थाल्नुपर्ने परिस्थितिले उनलाई केही खारिसकेको थियो । उनको भावभङ्गिमा र उनले प्रयोग गर्ने भाषाले उनी माथिल्लो तहको जिम्मेवारीमा पुगेको छनक दिन्थ्यो ।

तर पनि पहिलेदेखि नै हामी एकआपसमा मनमा उठेका सबै भाव, अनुभूति र सोँचहरु निर्वाध साट्ने गर्थ्यौँ । उनी पार्टीको नेतृत्व तहमा नै पुगिसकेको र हाम्रोबीच पातलो पर्खाल उभिन थालेको अनुभूति भएपनि त्यो पर्खालले आफ्ना व्यक्तिगत कुरा अभिव्यक्त गर्न छेकेन ।

उनले विवाहका निम्ति जीवनसाथी रोजिसकेको र आफूलाई साथ दिने नेता अंमृत बोहरासँग नै उनको कुरा अगाडि बढेको कुरा बताइन् । निर्णय नै भइसकेको रहेछ ।

मेरै बारेमा पनि चासो लिँदै सोध्न थालिन् । ‘कोही त्यस्ता पुरुष कामरेडहरु छन् भने अब सोच्नु राम्रो …’ भन्दै पार्टीभित्र पनि विवाह उमेर पुगेका तर अझै अविवाहित कमरेडहरुका बारे हुन थालेका कुरा सुनाइन् ।

म केही छक्क परे पनि, कुरा सही नै लाग्यो । विवाह नै नगर्ने हाम्रो नीति थिएन, मात्र आफ्नो काम र विचारसँग मिल्ने जीवनसाथी होस् भन्ने थियो । अमृत बोहरा त आफै पनि पार्टीको एकजना नेता, उनीसँगको सहयात्रा साथीले रोजेकोमा मलाई खुसी लाग्यो ।

सन्दर्भमा अन्य नेता र महिला कार्यकर्ताहरुको पनि समस्या र आवश्यकताको बारेमा कुराकानि भयो । म बढी बोल्नु भन्दा चूप भएर सुनें धेरै । मेरै मामलामा मलाई अझै हतार लागिसकेको थिएन, धेरै साथीहरु म जस्तै अविवाहित नै थिए । तर अब साथीको कुरा सुनेपछि भने केही हतार जस्तो पनि लाग्यो ।

त्यहीबेलातिर हाम्रो पुरानो संगठक महेशमान श्रेष्ठ चीनमा पढाई सकाएर डाक्टर भएर देश फर्कनु भयो । म नेकपा(माले)मा प्रवेश गरेको उहाँलाई अझै थाहा थिएन । पहिले झैं फेरि भेट्न चाहनु भयो । म गएँ भेट्न ।

डाक्टर भएर फर्के पनि मान्छे उस्तै पहिले झैँ नै सरल लाग्यो । कुराकानीका विषय उही थिए– देशमा आवश्यक परिवर्तनको कुरा । पुराना विद्यार्थी साथीहरुबारे पनि लामै कुरा भयो । त्यो कुराकानीमा मलाई मन परेको कुरा के भने उहाँले दिल खोलेर आफ्नो आत्म–आलोचना गर्नु भयो । मनमा भएको आत्मग्लानी पनि पोख्नुभयो ।

मैले पनि केही कुरा बाँकी नराखिकन नै उहाँको आलोचना गरेँ । हामीबीच पुनः एक किसिमले छुटिरहेको तार जोडियो । मैले आफू नेकपा (माले)मा प्रवेश गरेको कुरा पनि उहाँलाई बताएँ । आत्मालोचनाको जलमा नुहाइसकेपछि उहाँको मन पनि केही हल्का भएजस्तो लाग्यो । अनि केही गम्भीर भएर पहिलकै झैं जिम्मेवार अविभावक झैं भएर उहाँले भन्नु भयो – ‘अब काम मात्र होइन, आफ्नै जीवन र जीवनसाथीबारे पनि सोच्ने बेला भयो । यो कुरालाई पनि ‘क्यू’मा राख्ने र प्राथमिकता दिने बेला भयो …।’

केही वर्ष अघि हामी सङ्गठित पुरानो समूह नै भताबुङ्ग हुने गरी उहाँले छोडेर गएको बेला हामी तीनजनाको एउटा छुट्टै कमिटी थियो । अष्ट, सुमन र म थियौँ त्यस कमिटीमा ।

सुमनको त यो बेलासम्ममा बच्चाहरु पनि भैसकेका थिए । अष्टको पनि अर्कै जीवन सुरु भैसकेको थियो । विवाहको निर्णय हुन बाँकी म मात्र थिएँ । उहाँले ‘अब त बेला भयो नि, साथी खोज्न’ भनेपछि म एक किसिमले झसङ्ग पनि भएँ र यसबारे सोँच्नै पर्ने बेला भएको महशूस पनि गरेँ ।

शान्त पोखरीमा कसैले ढुंगा हानिदिए झैं म अलिकति तरङ्गित पनि भएँ ! तर भन्नासाथ मिल्ने कुरा थिएन यो । मेरो मनलाई मसिनो ढंगले चिन्ने त आखिर म नै थिएँ । आफ्नो स्वभावसँग मिल्ने र मनले खाने व्यक्ति त अझै खोज्नु नै थियो ।

महेशदाइ फर्केको कुरा पार्टीलाई पनि थाहा भयो । असल मान्छेहरुसँग एकताको कुरा अगाडि बढ्दै गएको बेला उहाँलाई कसरी पार्टीको नजिक बनाउने भन्ने जिम्मा पनि मलाई आइलाग्यो ।

चीन हुँदा उहाँबारे थाहा पाउने मान्छे उही हाम्रा प्रशिक्षक ‘डीबी कमरेड’ नै थिए । पहिले उनीसँग नै महेशदाइबारे अलिकति कुरागर्न छुट्टै समय मागें । भेटघाट भयो । कुरा सकिएन । फेरी पनि भेटघाट भयो र कुराकानी लम्बिन थाल्यो । भेटघाटमा समय दिन थाले, उनको व्यस्तता मलाई थाहा थियो । त्योसँगै मेरो मनमा एउटा पूर्वाभास हुन थाल्यो …

प्रतिक्रिया दिनुहोस्