काठमाडौं । विगत दुई वर्षदेखि सत्ताबाहिर रहेका इजरायली नेता बेन्जामिन नेतान्याहु इजरायलको प्रधानमन्त्री निर्वाचित भएका छन् । प्रधानमन्त्री पदमा यसपटक शपथ लिएसँगै उनले अहिलेसम्म ६ पटक इजरायलको प्रधानमन्त्री बन्ने कीर्तिमान बनाएका छन् ।
उनले विहीबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पदमा रहेका नेतान्याहुलाई संसदको १२० सदस्य मध्ये ६३ सांसदको समर्थन छ भने ५४ सांसदको उनको सरकारको विपक्षमा मतदान गरे ।
अति दक्षिणपन्थी सहयोगीहरूसँगको गठबन्धनमा सत्तामा फर्किएका उनले आफ्नो सरकारका तीन राष्ट्रिय लक्ष्यहरू रहेको बताए । नेतान्याहुलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बधाई दिएका छन् ।
कीर्तिमानी उपलब्धिका लागि बधाई सन्देश दिँदै पुटिनले भनेका छन्, ‘तपाईको नेतृत्वमा इजरायलको नयाँ सरकारले मध्यपूर्वमा शान्ति र सुरक्षा कायम राख्ने र रसिया र इजरायलबीचको पारस्परिक सहयोगको सम्बन्धलाई सुदृढ गर्दै दुवै देशका जनताको हितमा काम गर्ने विश्वास लिएको छु ।’
यसैबीच युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पनि नेतान्याहुलाई प्रधानमन्त्री बन्न सफल भएकोमा बधाई दिएका छन् ।