काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार उपरथी शाहीलाई आर्थिक अनियमितता गरेको आरोपमा नियन्त्रणमा लिएको सैनिक प्रवक्ता सहायक रथी कृष्ण भण्डारीले जानकारी दिए ।
उमेर हदका कारण शाही बुधबार (पुस २०) बाट नियमित अवकासमा जाँदै थिए । शाहीले सेनाबाट अवकासको पत्र पनि बुझिसकेका थिए । तर आफ्नो वास्तविक उमेरभन्दा १ वर्ष बढी कायम गरिएको भन्दै शाही सैनिक मुख्यालय र रक्षा मन्त्रालयको निर्णयविरुद्ध दुई पटक सर्वोच्च अदालत पुगेका थिए ।
उपरथी शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको भन्दै नेपाली सेनाको जंगी अड्डा र रक्षा मन्त्रालयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले उनको पक्षमा फैसला गरेसँगै उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
शाहीलाई अहिले स्वास्थ्य परिक्षणको लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी लगिएको छ । उपरथी शाहीलाई अनुसन्धान पूरा नभएसम्मका लागि सैनिक मूख्यालयमै राखिने छ ।