काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा माओवादी केन्द्रसँग एकताबारे छलफल गर्ने भएको छ ।
नेसपाले यही पुस २४ गते राजनीतिक समितिको बैठक बोलाएको छ । उक्त बैठकमा माओवादी केन्द्रसँगको एकताका बारेमा छलफल हुने नेसपाका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।
अहिले पार्टी एकताका विषयमा नेसपा र माओवादीबीच विभिन्न तहमा छलफल भइरहेको छ । एकताबारे नेसपा र माओवादीबीच करिब–करिब सहमतिजस्तै भइसकेको नेता पाण्डेको भनाइ छ ।
दुई पार्टीको एकता समयको माग भएको नेता पाण्डे बताउँछन् । उनी भन्छन्- ‘समाजवादी पक्षधरहरू अलग अलग हुनुभन्दा एकताबद्ध भएर अघि बढ्नु नै अहिलेको समयको माग हो । समाजवादी धारको नेतृत्व गरेर अगाडि बढ्ने कुरामा नेसपा र माओवादीबीच करिब-करिब सहमतिजस्तै छ ।’
गत मंसिर चार गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेसापले माओवादीको चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गरेको थियो । उक्त पार्टीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिन्द्र राय यादव, वाग्मती र गण्डकीमा क्रमशः गंगानारायण श्रेष्ठ, फणीन्द्र देवकोटा निर्वाचित भएका थिए ।
त्यस्तै नेसपालाई पनि समेट्ने गरी माओवादीले मधेसी महिलामा उमरावतीदेवी यादवलाई समानुपातिक सांसद बनाएको छ ।
२०७२ असोज ३ गते संविधान जारी हुँदा डा. भट्टराई एमाओवादीका वरिष्ठ उपाध्यक्ष थिए । तर असोज ९ गते ‘भत्केको घर’ भन्दै एमाओवादी परित्याग गरेको घोषणा गरेका थिए । माओवादी परित्याग गरेको सात वर्षपछि बाबुराम फेरि माओवादी केन्द्रमै फर्कन लागेका हुन् ।