काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका नेताहरू सत्ता-सत्ता भनेर मरिहत्ते गरिरहेको टिप्पणी गरेका छन् ।
युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकारमा सहभागिताका लागि कसैले प्रस्ताव नै नगरेपनि पार्टीका नेताहरू सत्ताका लागि मरिहत्ते गरेको बताएका हुन् ।
अध्यक्ष नेपालले भने– ‘कसैकसैलाई सरकारमै जान हतार, सरकार बनाउँदा कसैले सोधेकै छैन, नीति तथा कार्यक्रम तर्जुमा गर्ने कुरामा कसैले मतलव नै राखेको छैन, त्यै पनि सरकारमा जान हतार । यी सबै कुराहरू भनेको के हो भने सत्ता, सत्ता, सत्ता बाहेक अरू केही नदेख्ने चिन्तन हो ।’
अध्यक्ष नेपालले आफ्नो पार्टीको चिन्तन सत्ताभन्दा भिन्न रहेको समेत बताएका छन् । उनले भने– ‘हाम्रो पार्टीको चिन्तन फरक छ । किन भने यो नयाँ स्वरूप लिएको क्रान्तिकारी पार्टी हो । यसको दिमागमा एउटै कुरा छ– देश र जनता ।’
अध्यक्ष नेपालले सरकारमा जाने वा नजाने भन्ने विषयमा निर्णय गर्ने समय रहेको र प्रधानमन्त्रीले विश्वासको मत लिने दिनसम्ममा निर्णय लिने समेत बताएका छन् ।
एकीकृत समाजवादीको भर्खरै स्थायी कमिटी र पोलिटब्युरोको बैठक सम्पन्न भएको छ । दुबै कमिटीको बैठकमा बहुमत सदस्यले सरकारमा सहभागी हुनुपर्ने भन्दै अध्यक्ष नेपालमाथि दबाब बढाए थिए । सोही विषयलाई लिएर अध्यक्ष नेपालले पार्टीका नेताहरू सत्ता–सत्ता भनेर मरिहत्ते गरेको टिप्पणी गरेका हुन् ।
एकीकृत समाजवादीको बैठकमा चार दिनसम्म सरकारमा जाने कि नजाने भन्ने विषयमा छलफल भए पनि अध्यक्ष नेपालले भने झै सरकार र सरकारमा सहभागी दलले एकीकृत समाजवादीलाई सरकारमा सहभागिताका लागि औपचारिक प्रस्ताव भने गरेको छैन ।
भिडियो हेरौं–