विचार, आदर्श र सिद्धान्तबाट विचलित कम्युनिष्टहरूको विचलनको गति अकल्पनीय द्रुत हुन्छ । यसको पछिल्लो उदाहरण पुष्पकमल दाहाल ‘प्रचण्ड’ बन्न पुगेका छन् । प्रचण्डमा विचलनको गति यसैगरी बढ्दै जाने हो भने प्रचण्डकै कारण जनयुद्धको उपलब्धि समाप्त भए आश्चर्य मान्नु पर्दैन ।
विज्ञानको चरम उपयोग गर्ने उच्च भौतिकवादी कल्पना र अध्यात्मबाट अति प्रेरित जीवनशैली पटक्कै मिल्दैन । जसरी आजको राजनीतिमा प्रचण्डको बोली र व्यवहार मिलेको छैन । अनन्ततः, उच्च भौतिकवादी रूझानबाट राजनीतिमा उदाएका प्रचण्ड अध्यात्मवादी कित्तामा पुगेका छन् ।
त्यति मात्र होइन, तेस्रो कार्यकालका लागि प्रधानमन्त्री भएपछि प्रचण्डले बालुवाटार सर्ने साइत ज्योतिषबाट जुराए । पण्डितबाट पूजापाठ गराए । चरम भौतिकवादी चेतबाट पतन भएर अध्यात्मवादी कित्तामा नपुगेको भए आज प्रचण्डको यो हविगत देख्न पाइन्नथ्यो ।
प्रचण्डले जीवनकालमा दर्शनको रूपमा अंगीकार गरेको भौतिकवाद र अति घृणा गर्दै आएको अध्यात्मवाद विपरीत हुन् । प्रचण्डहरू यति छिट्टै ज्योतिष र पण्डितहरूको शरणमा पुग्छन् भन्ने कल्पनाको कुरा थिएन । तर, ढिले भए पनि प्रचण्डले असली रूप देखाएका छन् । प्रचण्डबारे थप प्रष्ट हुन अब बाँकी छैन सायद ।
प्रचण्डले राजनीतिक जीवनको यो अवधिसम्ममा अध्यात्म र धर्मलाई असंख्य घृणा गरेका छन् । अध्यात्म अन्धविश्वासमा आधारित हुने र नेपालको सन्दर्भमा अध्यात्ममा आधारित धर्मपरम्परा नै विकासको बाधक भएको भन्दै आएका छन् । तर, प्रचण्ड नै अध्यात्ममा आधारित जीवन बाच्न तयार भएका छन् । र, प्रचण्ड पनि विकासको बाधक मानिएको धर्मका उद्दार अनुयायी भएका छन् ।
भौतिक विज्ञान वस्तुनिष्ठ हुन्छ । र, आध्यात्मिक दुनियाँ अन्धविश्वासमा निर्भर । विज्ञानको चरम विकासको यो युगमा भौतिकवाद नै जीवन दर्शनको सर्वश्रेष्ठ उपलब्धि मानिन्छ । यो सत्य पनि हो । भौतिक विज्ञानको विकासले आज दुनियाँको नक्सा बदलिएको छ ।
छविलाल, पुष्पकमल वा एक सामान्य मानिसको हकमा सबथोक सुविधा छ । तर, कम्युनिष्ट आदर्शको रूपमा स्थापित ‘प्रचण्ड’लाई अवसरवाद र अन्धविश्वासमा विलिन हुने छुट हुँदैन । किनकी, आजको प्रचण्ड धरातल सोही अन्धविश्वास विरूद्धको रक्तरञ्जित इतिहासबाट बनेको हो ।
आज अन्धविश्वासमा आधारित जीवनयापन गर्ने निर्णयमा पुगेका प्रचण्डहरूलाई विगत भुल्ने छुट छैन । आम जनतालाई भौतिकवादमा आधारित अति सुखमय जीवनको सपना देखाएर आज आफैले अवसर र अध्यात्म रोज्नु उचित मानिन्न । १७ हजारले रगत त्यसै बगाएका होइनन् । प्रचण्डलाई आज यो अवस्थामा पुर्याउन कसैले पनि बलिदान दिएका होइनन् ।
अन्धविश्वास र धार्मिक अतिवादविरूद्ध कठोर संघर्ष गरेर स्थापित कम्युनिष्ट नेतृत्वहरू यसरी पतन हुँदा कम्युनिष्ट आदर्श र जीवनपद्धतिप्रति स्वभाविक विश्वास गुम्दै जान्छ । हाम्रै देशमा जीवनकालभर आलोचनाका पात्र बनेका कम्युनिष्ट नेतृत्व छन् । आज प्रचण्डले पनि सोही बाटो समातेका छन् । अर्थात, कम्युनिष्ट आदर्शबाट विचलित कम्युनिष्ट नेतृत्व ।
प्रधानमन्त्रीको शपथ खाएपछि प्रचण्ड कम्युनिष्ट आदर्श पुष्पलाललाई श्रद्धा अपर्ण गर्न पुष्पलाल स्मृति पार्क पुगे । तर, पुष्पलालले खुट्याएका ‘पाँच प’ भोलिपल्टै उलङ्घन गर्दै प्रचण्डले पुष्पलाललाई अपमान गरे ।
पुष्पलालले भनेका थिए– ‘पाँच प’ले नेपाली समाज पछि परेको छ ।’ पुष्पलालले भनेका पाँच ‘प’ थिए– पुर्पुरो, परम्परा, परमेश्वर, पुनर्जन्म र परलोक ।
प्रचण्डले जीवनकालमा दर्शनको रूपमा अंगीकार गरेको भौतिकवाद र अति घृणा गर्दै आएको अध्यात्मवाद विपरीत हुन् । प्रचण्डहरू यति छिट्टै ज्योतिष र पण्डितहरूको शरणमा पुग्छन् भन्ने कल्पनाको कुरा थिएन ।
२०४८ सालको एक सभामा मदन भण्डारीले भनेका थिए– ‘हाम्रा देवता भनेका नबोल्ने ढुंगाका देवता होइनन्, जीवित र बोल्ने जनता हुन् ।’
प्रचण्ड मदनप्रति आदरभाव राख्छन् । तर, भौतिकवादी चेतनाबाट मदनले जनतालाई राखेको त्यो श्रेष्ठता विन्दु प्रचण्डले मनन गर्न सकेनन् । प्रचण्डले गर्न बाँकी ईश्वरको नाममा शपथ खान मात्रै होला । नबोल्ने ढुङ्गाहरूलाई देवता मानेर पुज्दै हिँड्नु मात्र होला ।
राजनीतिक नैतिकता र इमान्दारिताको सवाल प्रचण्डमा बाँकी केही छैन । सत्ता स्वार्थमा प्रचण्डले नैतिकता गुमाइसकेका छन् । हुँदाहुँदा महेन्द्रीय मण्डले राष्ट्रवादका प्रवर्द्धक भूमिकामा पनि प्रस्तुत भएका छन् । प्रचण्डको भित्री रूप तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिँदा देखियो ।
राजा महेन्द्रले ‘एउटै भाषा एउटै भेष, एउटै राजा एउटै देश’को नारा लगाएर राष्ट्रवादको परिभाषा बनाएका थिए । जहाँ दौरा सुरूवाललाई एकमात्र भेष भनियो । ‘एउटै भाषा’ भनेर खस भाषालाई मात्र राष्ट्रिय भाषाको रूपमा मान्यता दिइयो । आज यो नै महेन्द्रीय राष्ट्रवाद भनेर विकृत छ ।
कुनै व्यक्तिले कुनै पोषक लगाउनु प्रश्नको विषय नहुन सक्छ । तर, प्रचण्ड त्यस्तो धरातलबाट आएका छन्, जुन धरातलले दौरा सुरूवाल लगाउनुलाई राजावादी र सामन्ती भएको भाष्य बनाएको छ ।
प्रचण्डले भैँसी पूजा गरेको, तातोपानीमा नुहाएको, गुगल ब्वाइ नाममा विख्यात बालकलाई अंकमाल गरेको र विभिन्न नामधारी धर्मभीरूहरूको शरण परेको कुरा लुकेको छैन । यी घटनाहरूले नै प्रचण्ड पतनको बाटोमा लागेको प्रष्ट पारेकै थियो । यस पटक दिउँसै अन्धकार पारेर प्रचण्डबाट सिर्जित भ्रमहरू चिरिएका छन् ।
एक कोणबाट हेर्दा प्रचण्ड जे गर्दैछन् ठीक गर्दैछन् भन्ने पनि लाग्न सक्छ । किनकी, केही धार्मिक सम्प्रदायलाई त खुसी बनाएकै छन्, अध्यात्मवादीहरू त मख्ख पारेकै छन् र नक्कली कम्युनिष्टहरू पनि खुशी नै छन् । तर, प्रचण्ड र प्रचण्डबाट दीक्षित लाखौं कार्यकर्ता र जनताको विश्वासमा आघात पुगेको छ ।
पुनः मदन भण्डारीकै भनाइ– ‘हामी भौतिकवादीको मूल लडाइँ तिनै धर्मभीरू र शोषकविरूद्ध हो ।’
प्रचण्ड पनि आजसम्म यसै भन्दै आएका छन् । तर अब, प्रचण्डबाट अन्धविश्वासी धर्मभीरूविरूद्ध संघर्ष कल्पना गरिन्न । शोषकविरूद्ध हुने लडाइँको नेतृत्व पनि प्रचण्डबाट सम्भव छैन । किनकी, प्रचण्डले जुन कुराविरूद्ध संघर्ष गर्दै आएका थिए आज सोही कुरा हाँसीखुसी अँगालेका छन् ।
प्रचण्डको अनपेक्षित पतन ‘बुढेसकालमा धर्मकर्ममा रूचि बढ्छ’ भन्ने सामान्य भनाइ जस्तो सरल बुझाइमा समाप्त हुँदैन । एक क्रान्ति नायकको पतन खतरनाक प्रतिक्रान्ति हो । यसले, कम्युनिष्ट आदर्श, विचार र सिद्धान्तबाट विचलित हुने बाटो तय गर्छ । त्यो काम प्रचण्डबाट भएको छ ।
०००
गोपालप्रसाद रिमालले खेलेको एउटा गीत–
एक जुगमा एक दिन, एकचोटि आउँछ ।
उलटपुलट, उथलपुथल हेरफेर ल्याउँछ ।
यो गीत सुन्दा– प्रचण्ड युगको गीत लेखिए झै धेरैले माने । प्रस्तुत गीत सुनाएरै माओवादीहरूले धेरैलाई माओवादी बनाए । हो, प्रचण्ड युगमा यस्तै भयो । जसको नेतृत्वमा एकपटक उलटफेर भयो । त्यो उलटफेर दोस्रो पटक भने सम्भव भएन ।
हुन त, सबथोक एउटै नेतृत्वबाट सम्भव हुँदैन । एक कालखण्डमा नेतृत्वले गर्ने योगदान नै अतुलनीय मानिन्छ । अधिकारका दृष्टिमा प्रचण्डले आफ्नो कालमा गरेका योगदान ‘प्रचण्ड योगदान’ हो । तर, प्रचण्ड स्वयम् गर्व गर्न लायक विगतप्रति बेइमानी पो हुन थालेकि ?
विश्वका क्रान्ति नायकहरू क्रान्तिपछि युग युग बाचेका छन् । प्रचण्ड पनि त्यो सम्मान र सद्भावका स्वभाविक हकदार हुन् । तर, यो पनि भूल्नु हुँदैन कि– क्रान्तिपछि क्रान्ति नायकहरूले बाटो बिराउँदा प्रतिक्रान्ति हुँदा क्रान्तिका सबै उपलब्धीहरू गुमेका छन् ।
प्रचण्ड नेतृत्वमा भएको क्रान्तिका उपलब्धीहरू रक्षा प्रचण्ड र प्रचण्ड नेतृत्वको माओवादी बाहेक अरूले गर्न सक्दैनन् । तर, प्रचण्ड र माओवादीहरू विचार, आदर्श र सिद्धान्तबाट च्यूत हुँदै जान हे भने सबै उपलब्धीहरू गुम्न सक्छन् ।