काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समय ट्राफिक नियम पालनामा कडाई गर्न थालेको छ । दुर्घटना न्यूनीकरणका लागि जरिवाना बढाउनेदेखि नियम पालनामा कडाई गर्न थालिएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयमा डिआइजी मिरा चौधरीको सरुवासँगै कडाई सुरु भएको छ । तर, यातायात व्यवसायीहरू अनुशासित बन्ने भन्दा डिआइजीलाई नै हटाउने लबिइङमा लागेका छन् ।
पछिल्लो समय ट्राफिक प्रहरी कार्यालयले लाइसेन्स निलम्बन तथा जरिवाना एक हजार पाँच सयको प्रावधान कार्यान्वायनमा ल्याएको छ । सोही निर्णयका विरुद्ध यातायात व्यवसायी तथा मजदुरहरूले आन्दोलन गर्न लागेका हुन् । यातायात मजदुरहरूलाई अघि सारेर यातायात व्यवसायीहरूले यस्तो अराजकशैली देखाउन लागेका छन् ।
सडक नियम पालना नहुँदा नेपाल अत्याधिक दुर्घटना हुने देशमा पर्छ । सवारी दुर्घटनाको मुख्य कारण नै चालकको लापरबाही हुने गरेको छ । चालकलाई अनुशासित बनाउन ट्राफिक प्रहरीले कडाइ थालेको हो । जनस्तरबाट यसको प्रशंसा पनि भइरहेको छ । तर, यातायात व्यवसायीले भने यो अभियानको विरोध गरेका छन् ।
जहाँ ट्राफिक नियममा कडाइ छ र जरिवाना धेरै हुन्छ त्यहाँ नियम मान्ने प्रवृत्ति बढी हुन्छ भने दुर्घटना पनि न्यूनीकरण हुने गरेको छ । अन्य देशको तुलनामा नेपालमा जरिवाना न्यून छ । त्यो पनि १० वर्षदेखि एउटै छ । जरिवाना न्यून भएकाले पनि कतिपयले जानीजानी नियम मिच्ने गरेका छन् । यही प्रवृत्तिमा सुधार गर्न खोज्दा डिआइजीलाई नै हटाउने अभियान सुरु भएको बताइएको छ ।