एजेन्सी । चीनको स्वास्थ्य अधिकारीहरूले शनिबार एक महिनाको अवधिमा कोभिड-१९ का कारण झण्डै ६० हजार व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् ।
सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोग अन्तर्गतको चिकित्सा प्रशासन ब्युरोका प्रमुख जियाओ याहुईले पत्रकार सम्मेलनमा जानकारी दिए । यो आँकडाले चिकित्सा सुविधाहरूमा रेकर्ड गरिएका मृत्युहरूलाई मात्र बुझाउने हुँदा कूल सङ्ख्या योभन्दा बढी हुन सक्ने अधिकारीहरूले बताएका छन् ।
जिआओका अनुसार योमध्ये पाँच हजार ५०३ जनाको मृत्यु कोभिडका कारण आएको श्वासप्रश्वाससम्बन्धी समस्याका कारण भएको छ भने ५४ हजार ४३५ जनाको मृत्यु कोभिडसँग जोडिएका अन्य अन्तर्निहित रोगका कारण भएको हो ।
गत डिसेम्बरको सुरुमा शून्य कोभिड नीति त्यागेपछि चीनमाथि भाइरसका कारण मृत्यु हुनेको सङ्ख्यालाई कम आँकलन गरेको आरोप लाग्दै आएको छ । स्वास्थ्य अधिकारीहरूले बुधबार यकिन सङ्ख्याका बारेमा जानकारी लिन आवश्यक नभएको बताएका छन् ।
बेइजिङले यसअघि कोभिड-१९ का कारण हुने मृत्युको वर्गीकरण गर्ने आफ्नो पद्धतिमा संशोधन गर्दै भाइरसका कारण श्वासप्रश्वासमा समस्या भएर मृत्यु हुनेको मात्र गणना गर्ने बताएको थियो । तर विश्व स्वास्थ्य संगठनले यसको आलोचना गर्दै नयाँ परिभाषा ‘अत्यन्तै संकीर्ण’ भएको बताएको थियो ।
कोभिड-१९ का कारण हुने मृत्युको वर्गीकरणबारे डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले भने, ‘संगठनले चीनलाई अस्पताल भर्ना र मृत्युको बारेमा थप छिटो, नियमित, भरपर्दो तथ्याङ्कका लागि निरन्तर आग्रह गरिरहेको छ ।’
शनिबार चीनका स्वास्थ्य अधिकारीहरूले मृत्यु हुनेको औसत आयु ८०.३ वर्ष रहेको र ९० प्रतिशतभन्दा बढी ६५ वर्षभन्दा माथिका रहेको बताएका थिए । तीमध्ये अधिकांश आधारभूत अवस्थाबाट पीडित रहेको उनीहरूले बताएका छन् ।
चीनमा ६० वर्षभन्दा माथिका लाखौं मानिसले खोप लगाएका छैनन् ।