काठमाडौं । प्रहरीसँग सेटिङ मिलाएर छुटाइदिन्छु भन्दै पैसा असुल्ने व्यक्ति पक्राउ परेका छन् । काभ्रेको मण्डनदेउपुर नगरपालिका ७ घर भएका हिराकाजी श्रेष्ठलाई ठगी गर्ने मकवानपुर बागमती गाउँपालिका ६ का खड्क बहादुर विश्वकर्मालाई काभ्रे प्रहरीले पक्राउ गरेको हो ।
हिराकाजीका छोरा गंगालाल श्रेष्ठ बैंकिङ कसुर मुद्दामा थुनामा रहेकोमा उनलाई छुटाइदिने आश्वासनमा विश्वकर्माले पैसा असुलेका हुन् । उनले पटक पटक गरेर १० लाख १९ हजार रुपैयाँ लिएको जिप्रका काभ्रेले जनाएको छ । प्रहरी र अदालतमा सेटिङ मिलाउन भन्दै उनले सो रकम लिएका थिए । अभियुक्त विश्वकर्माविरुद्ध ठगी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ ।