एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा
एउटा साथीको साथले कति फरक पार्दछ जिउनुमा…
दीपक जंगमको संगीत, चाँदनी शाहको शब्द र नारायणगोपालको स्वरमा रहेको गीतको पहिलो अन्तरा हो यो । हुन त यो गीत प्रेमको सन्दर्भलाई केन्द्रभागमा राखेर लेखिएको र स्वरांकन गरिएको छ । तर, यो गीतलाई राजनीतिक यात्रामा जोडेर हेर्दा कस्तो सुनिएला ? विकसित केही राजनीतिक सन्दर्भहरुलाई यसै गीतको भावसँग जोडेर हेरौं ।
मंसिर ४ गते सम्पन्न चुनावमा १० सिट जितेर पनि राष्ट्रिय पार्टी बन्न नसकेको एकीकृत समाजवादी पार्टी पछिल्लो समय विभिन्न हण्डर, ठक्कर र चुनौतीका बीच आफ्नो यात्रालाई अगाडि बढाइरहेको छ । विचार, सिद्धान्तका हिसाबले यो पार्टी नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाह भएकाले होला चौतर्फी घेराबन्दीमा छ ।
अझ इमान्दारपूर्वक भन्ने हो भने एकीकृत समाजवादी पार्टी अहिले बहुत ठूलो संघर्षमा छ । दुःखमा छ । असहजतामा छ । पार्टीको नेतृत्वदेखि कार्यकर्ताहरुमा केही निराशा छ । केही अकुसमुकुस छ ।
एमालेको नेतृत्व पश्चगागी, प्रतिगामी, अधिनायकवादी र दक्षिणपन्थ अवसरवादको दलदलमा फसेको निष्कर्ष निकालेर कम्युनिष्ट आन्दोलनलाई नयाँ जीवन दिने प्रणका साथ एमालेबाट विद्रोह गरेर जन्मिएको पार्टीले एक वर्षभित्र दुईवटा निर्वाचन फेस गर्नुपर्याे । यसबीचमा शीर्षस्थानमा उल्लेख गरिएको गीतको भावसँग जोडेर हेर्न मिल्ने कैयन बहस भए ।
तत्कालीन एमालेमा १० भाइको परिचय बनाएका नेताहरु (घनश्यामहरू) यो पार्टीमा सुरुदेखि नै जोडिएको भए एकीकृत समाजवादी पार्टीको हैसियत के हुन्थ्यो ? अर्थात् समाजवादी आन्दोलनको क्षयीकरण यो विन्दुमा पुग्दैनथ्यो कि ? यस प्ररकारका सन्दर्भहरु सुनिए ।
खैर, ढिलो गरी (२९ पुस २०७९) भए पनि तिनै १० भाइमध्येका एक अग्ला व्यक्ति कम्युनिष्ट नेता घनश्याम भुसाल एकीकृत समाजवादी पार्टीमा समाहित भएका छन् । नेपाली राजनीतिमा माक्र्सवादी चिन्तक घनश्याम भुसाल चिरपरिचत नाम हो ।
भुसालको आगमनले पार्टीपंक्ति उत्साहित देखिन्छ । नेतृत्वदेखि स्थानीय तहसम्मका नेता कार्यकर्ताहरु अत्यन्तै खुसी देखिएका छन् । पार्टीपंक्तिमा नयाँ आशाको सञ्चार भएको छ । नेता कार्यकर्ताहरुले घनश्याम कमरेडलाई पुसको जाडोमा न्यानो स्वागत गरेर खुसीयाली बाँडिरहेका छन् ।
पार्टीको जीवनमा एउटा वैचारिक नेता साथीको साथ हुँदा त्यसले पार्ने प्रभाव कति गहिरो पर्दछ ? भन्ने कुरा पार्टीका नेता कार्यकर्तामा छछल्किएको उत्साहले देखाउँछ । यस अर्थमा नारायणगोपालले गाएको गीत राजनीतिमा दाँजेर हेर्न मन लागेको हो । सञ्चारमाध्ययमहरूले पनि भुसालको राजनीतिक यात्राका बारेमा प्राथामिकताका साथ सन्देशहरु प्रचार–प्रसार गरेर थप पुष्टि गरेका छन् ।
घनश्यामको आगमन र पार्टीको भविष्य
पछिल्लो समय बृहत् कम्युनिष्ट एकताको लागि एकीकृत समावादी पार्टीले महासचिव डा. बेदुराम भुसालको संयोजकत्वमा वार्ता कमिटी बनाएको छ । उक्त वार्ता कमिटीले छोटो समयमा सफलता हात पारेको छ । घनश्याम भुसाललाई पार्टीमा समाहित गर्न सफल भएको उक्त वार्ता कमिटीले आगामी दिनमा थप राजनीतिक शक्ति र व्यक्तिहरुलाई केन्द्रीकृत गर्ने वार्ता टोलीका सदस्य प्रकाश ज्वाला बताउँछन् ।
खैर, घनश्याम भुसालजस्तो वैचारिक, निडर, निष्कलंक र इमान्दार नेताको मायाले एकीकृत समाजवादी सिञ्चित हुनेछ । पार्टीले गति लिने छ । पार्टीको आन्तरिक लोकतन्त्र फुल्नेछ र फल्नेछ । उनले आफैँ पनि भनेका छन्, ‘हामी यो पार्टीमा कसैको विशेषाधिकार चल्ने दिन छैनौँ । नमूना पार्टी बनाउने छौँ । एमालेको नवौं महाधिवेशनले पारित गरेको राजनीतिक कार्यदिशा र तत्कालीन नेकपा (नेकपा)को स्प्रिटलाई गति दिन्छौँ ।’
उनले जोडले भन्दै आएको कुरा दोस्रो जनआन्दोलनपछि समाजवाद निर्माणको कार्यदिशा सुनिश्चित गर्नुपथ्र्यो । एमालेको नवौँ महाधिवेशनसम्म आउँदा हामीले त्यो ऐतिहासिक काम गर्यौं । त्यस कार्यदिशामा आधारित रहेर ‘राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादको तयारी गर्ने’ पार्टीको कार्यक्रम तयार गर्ने जिम्मा महाधिवेशनले केन्द्रीय कमिटीलाई दियो ।
त्यस कार्यदिशाविरुद्ध रहेका कमरेड केपी ओलीलाई महाधिवेशनले पार्टीको अध्यक्ष निवार्चित गर्याे । त्यसपछि त्यो ऐतिहासिक कार्यभार अवरुद्ध भयो । नवौँ महाधिवेशनपछि मैले निरन्तर यो विषय उठाइरहेँ । कमरेड ओली र मेराबीच भएका विवादको सबैभन्दा मुख्य विषय यही थियो ।’
एमाले नेतृत्वसँग वैचारिक विमति राखेर समाजवादी क्रान्तिमा समाहित भएका घनश्यामसामु चुनौती र अवसरहरु उत्तिकै छन् । चुनौतीदेखि भाग्ने, थाक्ने, निराश हुने, हतास हुने उनलाई छुट छैन । बरु नारायणगोपालको स्वरमा रहेको ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’ गीतलाई पार्टीको जिन्दगीसँग दाँज्ने समय आएको छ ।
एक वैचारिक नेताको आगमनपछि उत्साहित बनेको एकीकृत समाजवादी पार्टीले समाजवादको नेपाली मोडल तय गर्नेछ । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र प्राविधिक रुपान्तरणको सही दिशानिर्देश गर्नेछ । एमालेबाट गरिएको वैचारिक विद्रोहलाई पुष्टि गर्नुपर्ने चुनौती छ । पुस्तान्तरणसहितको नेतृत्व हस्तान्तरणको मुद्दा चुनौती बन्न सक्छ । दलाल पूँजीवादलाई परास्त गर्दै समाजवादको निर्माण गर्ने अभिभाराको नेतृत्व घनश्यामजस्ता वैचारिक नेताहरूले लिनुपर्ने छ ।
घनश्याम कमरेडको आगमनको सान्दर्भिकता भोलिका दिनमा पुष्टि गर्दै जाने दृढ विश्वासका साथ एउटा कुरा दाबीका साथ भन्न सकिन्छ, घनश्यामले पार्टीको कार्यकारी जिम्मेवारी पदमा रहेर काम गर्न पाए भने पार्टीलाई गति दिन सक्छन् । किनकि उनी इमान्दार छन् । मनमा एउटा, व्यवहारमा अर्को कुरा गर्ने नेता होइनन् । उनको राजनीतिक इतिहासले पनि यही भन्छ ।
भुसाल कमरेड जतिबेला (२०७९ जेठसम्म) एमाले नेतृत्व सच्चिनुपर्छ भन्दै थिए, एमालेबाट विद्रोह गरेका माधव–झलनाथहरुले पार्टीमै रहेर संघर्ष गर्नुपथ्र्यो भन्दै थिए, त्यो बेला भेटेर भनेको थिएँ, ‘तपाईंको जहाँ आवश्यकता महसुस गरिँदैन, त्यहाँ तपाईं हुनुहुन्छ, जहाँ तपाईंको आवश्यकता छ, त्यहाँ तपाईं हुनुहुन्न । यो भएन । नेकपाको स्प्रिटलाई मान्ने हो भने हामी एउटा बाटोमा हिँड्नैपर्छ । अर्थात् नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित हुनुपर्छ ।’
त्यसको ४ महिनापछि असोजमा उनले एमाले त्यागे । कात्तिक १ गते दृष्टि साप्ताहिकमा ‘अब घनश्यामका विकल्प’ शीर्षकमा एउटा लेख लेखेको थिएँ । जुन लेखमा पनि घनश्यामको अबको यात्रा र विकल्प भनेकै एकीकृत समाजवादी पार्टी हो भनेर लेखेको थिएँ । खैर, घनश्यामको आगमन स्वागतयोग्य छ । बरु पार्टीमा उनलाई कार्यकारी जिम्मेवारी दिएर पार्टी निर्माणमा खटाउनका निम्ति नेतृत्व र पार्टीपंक्तिले कत्तिको उदारता देखाउँछन् ? त्यो भने हेर्न बाँकी छ ।