Logo
Logo

आयल निगममा १० करोडको सेटिङ, छानबिन समिति गठन


6.9k
Shares


काठमाडौं । नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा बनाउन लागेको एक करोड लिटर क्षमताको इन्धन भण्डारण ट्यांकी निर्माणको ठेक्कामा मिलेमतो गरेको बिषयमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । अख्तियारको निर्देशनपछि बाणिज्य तथा आपूर्ति मन्त्रालयले सहसचिव राधिका अर्यालको संयोजकत्वमा छानबिन समिति बनाएको छ ।

आपूर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुखसमेत रहेकी अर्यालको संयोजकत्वमा समिति बनेपछि अयल निगमका कार्यकारी निर्देशक उमेश थानी भने शक्तिको प्रयोग गर्दै छानबिन रोक्न लागिरहेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा उनले छानबिन रोकाउन सफल भए पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठनसँगै उनी आत्तिएका छन् । र, मिडियामा समाचार रोकाउन लागिपरेका छन् ।


पेट्रोलियम भण्डारण ट्यांकी निर्माण क्षेत्रमा अनुभवी अन्तर्राष्ट्रिय कम्पनीलाई ठेक्कामा भागै लिन नसक्ने क्राइटेरिया राखी बोलपत्र निकालेर कानुनी भाषामा प्रथम दृष्टिमै अक्षम्य त्रुटि थानी र उनको समूहले निगममा गरेको अख्तियारको अनुसन्धानमा देखिएपछि उसले मन्त्रालयलाई छानबिन गर्न निर्देशन दिएको छ ।


भण्डारण ट्यांकी निर्माणको ठेक्कामा प्रतिस्पर्धालाई खुम्च्याएर १० करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोप निगमका कार्यकारी निर्देशक उमेश थानी र अमलेखगञ्ज डिपोका प्रमुख प्रदीप यादवमाथि लागेको छ ।


५ असोज, २०७९ मा ८० करोड रुपैयाँ लागत अनुमानको ५०–५० लाख लिटर क्षमताको भण्डारण ट्यांकी निर्माणका लागि निगमले बोलपत्र सूचना निकालेको थियो । जुन बोलपत्रमा सार्वजनिक खरिद ऐन नियमबिपरीत सेटिङ गरी २ वटा निर्माण ब्यवसायीले मात्र भाग लिन पाउने गरी क्राइटेरिया राखिएको थियो । सेटिङ अनुसार लागत अनुमानभन्दा २ करोड रुपैयाँ कममा बोलपत्र पेश गरेको रेलिगेयर कन्स्ट्रक्सनले ठेक्का दिइएको थियो । प्रतिस्पर्धामा २ वटा कम्पनीमात्र सहभागी हुन पाउनेगरी कार्यकारी निर्देशक थानीले सेटिङ गरेकाले अनुमानित लागतको करिब २.५ प्रतिशत कम मूल्यमा रेलिगेयर कन्स्ट्रक्सनले ठेक्का पाएको थियो । ठेक्कामा समानान्तर निर्माण सेवा र रेलिगेयरले मात्र भाग लिनेगरी बोलपत्रमा स्पेक राखिएको थियो । समानान्तर र रेलिगेयरले मिलेमतोमा बोलपत्र पेश गरेका थिए । समानान्तरले ८८ करोड रुपैयाँ र रेलिगेयरले ७८ करोडमा बोलपत्र पेश गरेका थिए । निगमको बोलपत्रमा प्रतिस्पर्धालाई नखुम्च्याएको भए करिब ६५ करोडमा भण्डारण ट्यांकी निर्माणको प्रस्ताव पर्ने संभावना हुन्थ्यो । तर निगमका कार्यकारी निर्देशक थानी र डिपो प्रमुख यादवले रेलिगेयर र समानान्तरसँग सेटिङ गरी २ वटा कम्पनीेको लागि मात्र मिल्ने योग्यता माग गरी बोलपत्र निकालेका थिए ।


प्रतिस्पर्धालाई खुम्च्याएर सेटिङमा ठेक्का दिंदा ह १० देखि १५ करोडभन्दा बढी घाटा निगमलाई पारिएको छ । भारतबाट घटेर आए पनि इन्धनको मूल्य नघटाई उपभोक्तालाई ढाड सेक्ने निगमले भण्डारण ट्यांकी निर्माणमा गरेको यो घोटालाको समाचार कतै पनि नआओस् भनेर निगमको बार्षिकोत्सवका दिन २५ पुस, २०७९ मा आर्थिक पत्रकारहरुलाई खुसी पार्न फुटसल प्रतियोगिता राखिएको थियो । मुख्य मुख्य मिडियका आर्थिक बिटका पत्रकारहरुलाई फुटसलमा बोलाएर थानीले आफ्नो अनियमितताको समाचार रोकाउन खोजेको आरोप छ । फुटसल प्रतियोगिताका नाममा आर्थिक पत्रकारहरुलाई खुसी पारेकाले निगमको ढुवानी भाडा बृद्धिको चलखेलको समाचार समेत प्राथमिकतामा परेको छैन । यसअघि बार्षिकोत्सवमा निगमले फुटसल जस्ता प्रतियोगिता कहिल्यै राखिएको थिएन । आन्तरिक रुपमा कर्मचारीबीचमा बार्षिकोत्सव कार्यक्रम राखिए पनि यसपटक सेड्यु्ल भन्दा बाहिर गएर पत्रकारका लागि फुटसल कार्यक्रम राखिएको थियो । गोपाल खड्काले जस्तै उनले भ्रष्टाचार छोप्न पत्रकार भेटेर समाचार रोकाउन थालेका छन् ।


‘निगमको डिपो निर्माण अति संवेदनशील हुन्छ, सडक बनाएजस्तो होइन, नेपालमा पेट्रोलियम बुझेको विज्ञ छैन, इन्धन भण्डारण निर्माणसम्बन्धी गाइडलाइन छैन, निगमका एक अधिकारीले भने–बनिनसकेको पोखरा डिपोको निर्माणको अनुभवको प्रमाणपत्रका आधारमा रेलिगेसनलाई ठेक्का दिइएको छ । डिपो भनेको इन्धन भण्डारण गर्ने ठाउँ हो, इन्धन भण्डार नगरी त्यो कसरी ९० प्रतिशत निर्माण भएको मानिन्छ ?’ ती अधिकारीले प्रश्न गरे–‘इन्धन भण्डारण निर्माण एक प्रविधि हो, प्रविधिको निर्माण सम्पन्न गरिसकेपछि पनि निश्चित अवधिसम्म परीक्षण गरेपछि मात्र सफल भएको मानिन्छ । यदि त्यसमा केही कैफियत देखिए मुद्दा लाग्छ । तर पोखरा डिपो निर्माण नै सकिएको छैन, त्यसमा इन्धन भण्डारण नै गरिएको छैन । कसरी ९० प्रतिशत निर्माण पूरा भयो ? र, त्यो प्रमाणपत्रलाई निगमले मान्यता दिई अमलेखगञ्जको डिपो निर्माणको ठेक्का दियो ? निर्माण नसकिएको पोखराको डिपोको अनुभवको प्रमाणपत्रका आधारमा ठेक्का दिएर भोलि भीषण दुर्घटना भए के गर्ने ?’
इन्धन भण्डारण ट्यांकी निर्माणको ठेक्का अति संवेदनशील हो, तर निगमका कार्यकारी निर्देशक उमेश थानीले सडक निर्माणको ठेक्का जसरी रेलिगेयरलाई दिएका छन् ।


अख्तियारको निर्देशनमा छानबिन समिति बनाएको बिषयमा निगमका कार्यकारी निर्देशक उमेश थानीले जे काम गरे पनि उजुरी हाल्नेले हाल्छन्, अख्तियारले सोध्न त पायो, यो केही होइन, मन्त्रालयमा सोधेको होला । उनले छानबिन समिति बनाएको बिषयमा प्रवेश नै गर्न चाहेनन् ।


निगमले यसअघि अमलेखगंजमा डिपो निर्माणका लागि २ पटक टेण्डर गरेकोमा मिलोमतो भएको भन्दै विवाद भएपछि रद्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्