मैले तेज दाजुलाई बाल साहित्यकारका रुपमा चिनेको थिएँ । पछि उहाँलाई पढ्दै जाँदा, उहाँको कलम बाल साहित्यमा भन्दा उम्दा प्रौढ साहित्यमा चलेको पाएँ ।
कथा, कविता, नियात्रा, अनुवादलगायत साहित्यका विविध विधामा उहाँको कलम चलेको छ, चलिरहेको छ । उहाँमाथि मेरो एउटा बनेको इमेज बाल साहित्यकै रूपमा अहिले पनि छ ।
बालसाहित्य लेखनसँगै उहाँ बालबालिकालाई लेखन तथा पठन संस्कृतिका विकासका क्षेत्रमा अहिले पनि दत्तचित्त भएर लागिरहनुभएको छ । यता प्रौढ साहित्यिक पाठकहरूको मन पनि जित्न सफल हुनुभएको छ । एउटा लेखक र आम नागरिकको फरकता पनि यही हो ।
हामी जति पनि समाजको नियममा बाँधिएका छौँ, त्यसको निर्माणकर्ता पनि एउटा लेखक नै हो । समाजका असमेल प्रवृत्तिमाथि समानताका बिगुल फुक्ने काम पनि एउटा सर्जककै हुने गर्दछ । तसर्थमा साहित्यकार तेजप्रकाशका लेखन पनि यिनै कुराहरुमा उन्मुख छन् ।
एउटा समृद्ध समाज निमार्णको भूमिका एउटा बालकबाट प्रारम्भ हुन्छ, त्यसकारण त्यो बालकलाई सत्मार्गमा हिँडाउन सक्नु नै एउटा सर्जकको मूल कार्य हुुन्छ, त्यसैले बाल साहित्य लेखन सजिलो विषय होइन ।
यी र यस्तै कुराहरूमा निकै सजग भएर सिर्जना गर्न रुचाउने स्रष्टा हुन तेजप्रकाश श्रेष्ठ । उहाँको नवीनतम नियात्रा कृति ‘म्यान्ली रोमाञ्च’का बारेमा केही शब्दगुच्छाहरू उन्ने क्रममै छु ।
लकडाउनको समयमा तेजदाजुको अष्ट्रेलिया भ्रमणका क्रममा लेखिएको नियात्रा कृतिको पाण्डुलिपि पढ्ने अवसर जुर्यो । पढ्ने क्रममा उहाँका नियात्रामा केही सुझावहरु मैले उहाँलाई दिएँ । त्यो उहाँले सहस्र स्वीकार गर्नुभयो । किताबको शीर्षकमा पनि निकै छलफल भयो । अन्नतः म्यान्ली रोमाञ्च नामबाट यो सुन्दर नियात्रा कृति प्रकाशन भयो ।
अत्यन्त शालिन व्यक्तित्वका धनी श्रेष्ठको यो कृतिले नियात्रा विधामा इतिहासको पाटो खोतल्दा नयाँ स्वादसँग पाठकलाई जम्काभेट गराउन सफल देखिन्छ ।
मैले उहाँका प्रायः सबै पुस्तकहरु पढ्ने अवसर पाएको छु । उहाँका सिर्जनाले हाम्रो समाजका विविध पक्षहरुलाई केलाएको पाइन्छ । उहाँ पनि यही समाजको एउटा सचेत नागरिक भएकाले उन्नत समाजको निर्माणमा एउटा सर्जकको भूमिका ठूलो रहने गर्दछ । यस मानेमा उहाँका सिर्जनाहरु निकै ओजपूर्ण रहेको पक्कै छ ।
यस कृतिभित्र रहेका चौबीसवटा नियात्राहरूले नियात्रा विधामा एउटा छुट्टै स्वाद दिलाएका छन् । हुन त अष्ट्रेलियाका बारेमा लेखिएका धेरै नियात्रा कृतिहरु छन् । हरेक लेखकका अष्ट्रेलियालाई हेर्ने दृष्टिकोण आ–आफ्नै रहेको छ । तर तेजप्रकाश श्रेष्ठको नजर भने अलि भिन्न प्रकारको रहेको छ ।
कसैले सोच्न नसकेको तर त्यहाँको यथार्थ इतिहासलाई उहाँले म्यान्ली रोमाञ्चमार्फत प्रस्तुत गर्नुभएको छ । त्यहाँको आदिवासी जनजातिहरूको बारेमा लेखिएको एउटा ऐतिहासिक कृतिको रूपमा म्यान्ली रोमाञ्चलाई लिन सकिन्छ ।
हामी विकसित मुलुकमा गएपछि त्यहाँको यथार्थलाई चटक्क बिर्सन्छौँ, त्यहाँको आधुनिकताले पौराणिक धरातललाई छोपेको हुँदा हामी त्यसमा त्यति चासो लिँदैनौँ । तर तेजदाजुको नजर त्यहाँका आदिवासीलगायत उनीहरुको रहनसहन तथा जीवनशैलीमा पर्यो, उनीहरुको विगत र वर्तमानको पीडा जान्न उत्सुक लेखकले म्यान्ली रोमाञ्चमार्फत आफ्नो यात्राको रोमाञ्ची क्षणलाई पुस्तकको रूपमा तयार गर्नुभयो ।
म पनि लकडाउनको त्यो त्रासद समयमा म्यान्ली रोमाञ्चभित्रका हरेक शब्दहरुमा हराएँ । यद्यपि म त्यहाँ पुग्न नसके पनि उहाँको नियात्राका पाण्डुलिपि पढेर सिङ्गै अष्ट्रेलियाको भ्रमणमा रमाएँ । एउटा नियात्रा लेखकले पाठकलाई पनि सँगसँगै यात्रामा घुमाउन सक्नु लेखकको सामथ्र्य हो । यी नियात्राहरु जोकोहीलाई पनि उपयोगी छ ।
अष्ट्रेलिया भ्रमणमा जाने तथा विद्यार्थीहरूका लागि पनि म्यान्ली रोमाञ्च उत्तिकै उपयोगी रहन्छ भन्ने मेरो विश्वास छ । तेजदाइको आगामी लेखनयात्रा अझै सुन्दर बनोस् शुभकामना ।