काठमाडौं । अप्रत्यासित रुपमा सत्ता बाहिर पुगेको नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि आफ्नो पक्षमा लबिङ गर्दै आएको छ ।
आफ्नै कारणले केन्द्रदेखि प्रदेशसम्मका महत्त्वपूर्ण राजकीय पद गुमाएको कांग्रेस अझैपनि राष्ट्रपति पद पाउन सकिन्छ कि भनेर लागिपरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुनको अन्तिममा समाप्त हुँदैछ । एक महिनाअघि चुनाव गरिसक्नुपर्ने व्यवस्थाअनुसार माघको अन्तिमसम्ममा निर्वाचन गरिसक्नुपर्ने छ ।
सत्ता साझेदार दलभित्र राष्ट्रपति एमालेले पाउने सहमति भइसकेको छ । तर, एमालेले लिने तय भएको राष्ट्रपति पद फुत्काउन कांग्रेसले प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फकाउँदै आएको छ ।
तर, कांग्रेसलाई सहज भने देखिँदैन । एमालेले राष्ट्रपतिको उम्मेदवार खडा गर्ने सहमति सत्ता साझेदार दलभित्र भइसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति एमालेलेृ पाउने सहमति भइसकेको बताउँदै आएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत राष्ट्रिय सहमतिमा राष्ट्रपति बन्ने बताउँदै आएका छन् । तर, कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत भने राष्ट्रपति पाउने आकांक्षासहित प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताउँछन् ।
‘सभामुख र उपसभामुखमा एमाले अध्यक्ष केपी ओलीको तजबिजी चल्यो । तर, राष्ट्रपति चुनावमा प्रधानमन्त्री प्रचण्डको लागि परीक्षाको घडी खडा भएको छ,’ उनी भन्छन्, ‘अहिलेको परिवेशमा केपी ओलीजीबाट संविधानमाथि झन् धेरै खतरा देखेका छौं । त्यसैले कांग्रेसले राष्ट्रपतिको आकांक्षासहित प्रधानमन्त्रीलाई विश्वासको मत दिएका हौं । ’
कांग्रेसले सभामुख, उपसभामुखको निर्वाचनमा आफ्नै उम्मेदवार खडा गरेको थियो । तर, दुबैमा पराजित भयो । कांग्रेसको नीति नै एमालेलाई रोक्ने र प्रचण्डलाई आफ्नो पक्षमा पार्ने देखिन्छ ।
राष्ट्रपतिको निर्वाचनसम्म पुग्दा परिस्थिति बदलिने आशमा कांग्रेस सभापति शेरबहादुर देउवा छन् । त्यसैका लागि धुम्बाराहीस्थित निवासमा उनले रणनीति बनाइरहेका छन् । उसका लागि राष्ट्रपति पद प्राप्त गर्ने झिनो आशा भनेको प्रधानमन्त्री प्रचण्ड नै हन् ।
प्रचण्डले दायाँबायाँ गरेको खण्डमा उसका लागि राष्ट्रपति पाउन झिनो आशा हुन्छ । नत्रभने सभामुख र उपसभामुखको निर्वाचनको जस्तै नियति दोहोरिने निश्चित छ । समय अझै झण्डै तीन साता बाँकी रहेकाले राजनीतिले कस्तो मोड लिन्छ त्यसका लागि पर्खनुपर्ने नै हुन्छ ।