काठमाडौं । कुमारी बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा बैंकका अध्यक्ष अमिरप्रताप जबराको अध्यक्षतामा नक्सालस्थित नक्साल ब्याक्वेटमा सम्पन्न भएको छ । उक्त साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७५/७६ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तनलगायत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।
साधारणसभाले शेयरधनीहरुलाई आव २०७५/७६ को लागि १० प्रतिशत बोनस शेयर तथा बोनश शेयरको कर प्रयोजनार्थ ०.५२६प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर जारीपश्चात् कुमारी बैंकको चुक्ता पुँजी रु.९ अर्ब ५५ करोड हुनेछ ।
आर्थिक वर्ष २०७५/७६ को मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८४ अर्ब ४० करोड परिचालन तथा कुल कर्जा रकम रु. ७६ अर्ब ९८ करोड प्रवाह गरी संचालन मुनाफा रु.१ अर्ब ७६ करोड तथा रु.१ अर्ब २३ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिर गरी १०७ शाखा सञ्जाल, ९३ एटिएम, ३ एक्स्टेन्सन काउन्टरका साथै ८ वटा शाखारहित बैंकिङ इकाईमार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।