एजेन्सी । पाकिस्तानमा सोमबार बिहानैदेखि देशव्यापी विद्युत कटौती भएको छ । संघीय ऊर्जा मन्त्रालयले विज्ञप्ति जारी गर्दै राष्ट्रिय ग्रिडमा ठूलो समस्या आएका कारण देशभर विद्युत कटौती गरिएको जानकारी दिएको छ ।
‘प्रारम्भिक जानकारी अनुसार सोमबार बिहान स्थानीय समयअनुसार साढे ७ बजे राष्ट्रिय ग्रिडले फ्रिक्वेन्सी गुमाएको अनुभव गर्यो, जसले गर्दा ठूलो समस्या भयो । प्रणालीलाई पुनर्जीवित गर्न द्रुत कार्य भइरहेको छ’, मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कराँची, इस्लामावाद, लाहोर र पेशावरलगायत सबै प्रमुख सहरमा विद्युत् बन्द भएको थियो । देशको दक्षिणी भागमा फ्रिक्वेन्सी भिन्नता रिपोर्ट गरिएको ऊर्जा मन्त्री खुरुम दस्तगिरले बताएका छन् । उनले भनेका छन्, ‘भोल्टेजमा उतारचढाव थियो र एक एक गरेर प्रणालीहरू बन्द हुँदै गयो । यो ठूलो संकट होइन ।’