काठमाडौं । सुशासनको नारा दिएर नथाक्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार गरेको ४० भन्दा बढी प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा विवादित बन्न पुगेको छ ।
लामिछानेले सिडीओ सरुवामा आफैंले बनाएको कार्यबिधि उल्लंघन गरेका छन् । यसअघि अवसर नपाएका तर, योग्यता पुगेका उपसचिव र सहसचिवलाई सिडिओ बनाउने किसिमको मापदण्ड स्वीकृत गरिएको भए पनि आकर्षक जिल्लामा बसेर आकर्षक जिल्ला नै सरुवा गरिएका अवसरवादीहरूलाई गृहमन्त्री लामिछानेले च्याप्न पुगेका छन् । २ दिनसम्म गृहसचिव विनोदप्रकाश सिंहलाई गोप्य कोठामा राखेर सूची बनाउँदा शान्तिसुरक्षा महाहाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको पनि साथ सहयोग लिइएको थियो । सुरुमा सूची तयार गर्दा कार्यबिधि अनुशरण गरिएको थियो, अन्तिम रुप दिंदा कार्यबिधि मिचेर सरुवा गरिएको स्रोतले बताएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभागमा करिब २ वर्ष महानिर्देशकका रुपमा बसेका विवादास्पद छविका तीर्थ भट्टराई मोरङको सिडीओमा सरुवा हुन सफल भएका छन् । उपसचिव हुँदा काठमाडौंको स्थानीय विकास अधिकारी (एलडीओ)को रुपमा कार्यरत रहँदा भूकम्पपीडितलाई त्रिपाल खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा ३ वर्ष निलम्बनमा परेका भट्टराईलाई अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेषबाट उनले सफाइ पाएपछि सहसचिव बढुवा भएका थिए । र, पहिलो पदस्थापन गोरखाको सिडीओमा भएको थियो । गोरखापछि महोत्तरीको सिडीओ बन्न सफल भएका उनलाई बालकृष्ण खाण गृहमन्त्री हुँदा ंपंजीकरण विभागको महानिर्देशक बनाइएको थियो । महानिर्देशक हुँदा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँग चोचोमोचो गरी टिक्न सफल भएका उनले विभागमा राष्ट्रिय परिचपपत्र छपाईमा करोडौं घोटाला गरेको उजुरी अख्तियारमा विचाराधीन रहँदारहँदै गृहमन्त्री लामिछानेले मोरङ जस्तो महत्वपूर्ण जिल्लाको सिडीओमा सरुवा गरेका छन् ।
मोरङमा जानका लागि उनले कांग्रेस नेता शेखर कोइरालासँग पनि सहमति लिएको बुझिएको छ । खाण गृहमन्त्री हुँदा उपत्यका र रुपन्देहीबाहेकको सिडीओ बन्दै बन्दिनँ भनेर हिंड्ने भट्टराईलाई तत्कालीन गृहमन्त्री खाणले महत्व नदिएपछि अहिले मोरङकै भए पनि सिडियो भएर गएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र रहेको जिल्ला गोरखा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको पनि गृहजिल्ला हो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पनि गृहजिल्ला रहेको गोरखामा भने सिरहामा २ वर्षदेखि सिडीओमा कार्यरत लालबाबु कवारीले बाजी मार्न सफल भएका छन् ।
सिरहामा हुँदा विकासे अड्डाका हाकिमदेखि यातायातका प्रमुखसँग मासिक उठाएर हैरानी दिने, जिल्ला छाड्न अनुमति नदिने जस्ता क्रियाकलाप गरेको, तस्करीलाई प्रोत्साहन गरेको, सिडीओ कार्यालयमा लेखापढी ब्यवसायीलाई बिचौलिया बनाई हरेक काममा सेवाग्राहीसँग घुस लिने गरेको बिषयमा हालका गृहमन्त्री ग्यालेक्सी फोरकेमा काम गर्दा चिच्याई चिच्याई समाचार बाचन गरेका थिए ।
सिरहामा उनको घुस्याहा कार्यशैलीको चर्को बिरोध हुँदैआएको थियो । यस्ता विवादास्पद छविका कवारीलाई कारबाही गर्नुको साटो लामिछानेको कालका परस्कृत गर्ने काम गरेर प्रधानमन्त्रीकै जिल्लामा पठाइएको छ ।
कम्पनी रजिष्टार कार्यालयमा कार्यरत रहँदा चितवन मेडिकल कलेजको स्वामित्व विवादमा एक पक्षसँग ठूलो रकम लिई अर्को पक्षलाई दुःख दिएको भेद खुलेपछि अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । विशेषले उनलाई कैद संजाय तोके पनि सर्वोच्चमा पुनरावेदन गरी उनले सफाइ पाएका थिए । मुद्दा लड्दा धेरै रकम खर्च भएकाले त्यो असुली गर्न उनले सिरहामा जे जे हर्कत देखाए, गोरखमा पनि नदेखाउलान्ु भन्न सकिन्न ।
सुशासनको रटान गर्ने प्रधानमन्त्री प्रचण्डकै गृहजिल्लामा विवादित छविका कवारी कसरी सिडीओ भए ? आश्चर्यको बिषय बन्न पुगेको छ । गोरखाबाटै निर्वाचित कांग्रेसका व्यापारी सांसद राजेन्द्र बजगाईले पनि कम्पनीमा हुँदा चिनजानका आधारमा कवारीलाई आफ्नो जिल्लामा सिडियो बनाउन लबिङ गरेको चर्चा पनि छ ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा एमाले निकट भनेर चिनिने उपसचिव विश्वराज न्यौपानेले अवसर पाएका छन् । कांग्रेस नेता डा. शेखरलाई ‘डा. साब भट्टराईलाई पठाइदिउँ’ भनेर सोध्ने गृहमन्त्री लामिछानेले सोही पार्टीका सभापति देउवालाई नसोधी न्यौपानेलाई पठाइ दिएका छन् ।
देउवालाई देखाइदिने नियतले नै एमालेको सिफारिसमा न्यौपानेलाई डडेलधुरा पठाइएको भन्नेहरू पनि छन् । एमाले सरकारको पालामा लाभैलाभको पद लिएका र कांग्रेसका पालामा लेबी बुझाएर सर्लाहीको सिडिओ बन्न सफल भएका थानेश्वर गौतमलाई मन्त्रालय तानिएको छ ।
उनलाई गृह मन्त्रालय मातहतका विभागको महानिर्देशक वा मन्त्रालयको महत्वपूर्ण शाखा दिने तयारीमा गृहमन्त्री लामिछाने भएको बताइन्छ । धनकुटाका सिडिओ युवराज कट्टेल सुर्खेतको सिडिओ बनेका छन्् । त्यस्तै, बागलुङका सिडिओ रमेश ढकाल धादिङमा पुग्नुमा निवर्तमान मुख्यमन्त्री राजेन्द्र पाण्डेको साथ सहयोग रहेको छ ।
बागलुङमा हुँदा सत्ता गठबन्धनका उम्मेदवारलाई साथ र सहयोग गरेको भनेर आरोपित ढकाल धादिङमा पुगेर कसलाई सहयोग गर्ने हुन् ? त्यो भने हेर्न बाँकी छ ।
अहिलेको सूचीमा काठमाडौंको सिडिओ चलाउने योजना भए पनि अन्तिममा स्थगित गरिएको छ । मन्त्रीले जे भन्यो त्यही विज्ञप्ति तयार गरी गृह मन्त्रालयलाई समेत बदनाम गराएका सहसचिव फणिन्द्रमणि पोखरेल काठमाडौंको सिडिओ बन्ने चर्चा थियो, तर गृहमन्त्री लामिछानेले केही दिन मलाई साथ दिनुस्, पछि हेरौला भनेपछि उनी रोकिएका छन् ।
गृह बाहिरका सहसचिवहरूको प्रवेशसँगै तिनको पदस्थापन गर्ने क्रममा फणिन्द्रमणिलाई काठमाडौंको जिम्मा लाउने योजनामा लामिछाने छन् । गृह भित्रने बाहिरका सहसचिवहरूमा होमप्रसाद लुईटेल पर्यटन विभागको महानिर्देशक त्यागेर सिडिओ बन्न आउँदैछन् भने राजस्व अनुसन्धान विभागको महानिर्देशक हुन नपाए सिडिओ भए पनि बन्नुपर्ला भन्दै भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढा पनि जम्जमाइरहेका छ्न् ।
उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी विभाग छाड्नै परे राजस्व अनुसन्धान र नपाए सिडिओमै आउने चाहनामा छन् ।