काठमाडौं । नेपालमा रेमिटेन्स कम्पनीहरू नै हुन्डीको कारोबारमा संलग्न रहेको पाइएको छ । प्रमाणसहित यस्तो सूचना पाएपछि नेपालको केन्द्रीय अनुसन्धान ब्यूरोले केही रेमिटेन्स कम्पनीमाथि छानबिन थालेको छ ।
अवैध कारोबारको आरोपमा सिआइबीले हाल मोडर्न रेमिटमाथि अनुसन्धान गरिरहेको छ । सो रेमिटका सञ्चालकमध्ये एक उदयचन्द्र यादबलाई ब्यूरोले गत महिना पक्राउ नै ग¥यो । उनको ल्यापटप तथा मोबाइलबाट अनुसन्धान गर्दा १७ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार गरेको भेटियो । सोही रकम बराबरको बिगो कायम गरी मुद्दा दायर भएकोमा उनी जेल चलान भइसकेका छन् ।
उनले भौतिक रुपमा आर्थिक कारोबार गर्दैनथिए । नेपालमा अनलाइनमार्फत नै भुुक्तानी दिन्थे । उनको बैंकिङ कारोबार शंकास्पद लागेपछि ब्यूरोले पक्राउ गरी छानबिन गरेको थियो । उनले रेमिट कम्पनीकै आडमा यस्तो कारोबार चलाउँदै आएका थिए । सो आधारमा सो कम्पनीका अन्य सञ्चालक तथा कर्मचारीमाथि समेत छानबिन भइरहेको स्रोत बताउँछ । अनलाइनमार्फत हुन्डी कारोबार हुने नयाँ शैली पत्ता लागेको स्रोत बताउँछ ।
सो कम्पनीले इजरायल, अष्ट्रेलिया लगायत देशमा हुन्डी कारोबार गर्दै आएको पाइएको छ । रेमिटेन्सको कारोबार थोरै तर हुन्डीको कारोबार भने धेरै हुने गरेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन । यो घटनाको अनुसन्धान गरेपछि अरु धेरै रेमिटेन्स कम्पनीले पनि यसैगरी हुन्डीको कारोबार गरेको सूचना प्रहरीले पाएको छ ।
‘नेपालमा अधिकांश रेमिटेन्स कम्पनीको धन्दा हुन्डीको कारोबार रहेछ,’ सिआइबीका एक प्रहरी अधिकारी भन्छन्,‘यस्तो धन्दा निकै संगठित किसिमको रहेछ ।’ खासगरी अवैध कारोबारको रकम यसरी हुन्डीको माध्यमबाट लेनदेन हुने गरेको हो ।
उता, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख फेरिएसँगै हुन्डी कारोबारीमाथि कारबाहीलाई तिव्रता दिएका छन् । कार्यालयले शुक्रबार न्यूरोडबाट ७८ लाख ५० हजारसहित किशोर चौधरी र दीपेन्द्र बहादुर मल्ललाई पक्राउ ग¥यो । उनीहरुले दिनमै एक करोडको कारोबार गर्दै आएको प्रहरी दाबी छ । पक्राउ परेका दुवै जना हुन्डीको रकम व्यवस्थापन गर्ने व्यक्ति मात्र हुन् । त्यसकारण मुख्य कारोबारीसम्म प्रहरी अनुसन्धान पुग्न सक्छ कि सक्दैन भन्ने हेर्न बाँकी छ ।
विगतमा अपराध अनुसन्धान कार्यालयमा हुन्डी कारोबारीसँग सेटिङ थियो । जसकारण एक कारोबारीलाई पक्राउ गर्दा डिएसपी डिलबहादुर मल्ल नै कारबाहीमा परेर हटाइएका थिए । उच्च पदस्थ व्यक्तिको संरक्षणमा रहेका कारोबारीमाथि एक्सन लिदा उनलाई त्यहाँबाट हटाइएको थियो । नयाँ एसएसपी डा.मनोजकुमार केसीले भने अपराध अनुसन्धान कार्यालयमा वर्षाैदेखि बसेर सेटिङ मिलाउँदै आएका प्रहरीलाई हटाउने राम्रो अभियान सुरु गरेका छन् ।