काठमाडौं । उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ३ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आजका लागि उच्चस्तरिय संयन्त्रको बैठक बोलाउने सहमति भएको थियो ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछिको अवस्था, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, मन्त्रिपरिषद्लाई पूर्णता दिने लगायत समसामयिक विषयमा छलफल हुने एजेण्डा छ ।
राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा सत्ता गठबन्धनमा उम्मेदवारबारे सहमति जुट्न सकेको छैन । पूर्वसहमति अनुसार एमालेले राष्ट्रपति आफुले पाउनुपर्ने अडान राखेको छ भने प्रधानमन्त्री प्रचण्ड एमालेबाहेकबाट राष्ट्रपति बनाउन चाहान्छन् ।
राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउन ओली-प्रचण्ड दिनहुँजसो छलफलमा जुटेका छन् । तर, हालसम्म कुनै ठोस निर्णयमा पुग्न सकेका छैनन् ।