Logo
Logo

खानेपानी योजनालाई उपभोक्ताबाट १० करोड जुट्यो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काभ्रेपलाञ्चोक, ३० असोज । पाँचखाल नगरपालिकामा बृहत खानेपानी योजना सञ्चालनार्थ उपभोक्ताबाट रु १० करोडभन्दा बढी रकम जुटेको छ । सुनकोशी पाँचखाल बृहत खानेपानी परियोजनाका लागि उपभोक्ताको लगानीसँगै उपभोक्तसँग ऋण सापटी गरी रु १० करोड १० लाख जुटेको हो ।

हालसम्म पाँचखालका ६० उपभोक्ताले सुनकोशी पाँचखाल बृहत खानेपानी उपभोक्ता समितिलाई रु दुई लाखका दरले ऋण सापटी पनि दिएका छन् । अन्य रकम उपभोक्ताबाट सङ्कलन गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिनुभयो । “आयोजनाको सम्झौताअनुसार उपभोक्ताले व्यहोर्नुपर्ने रकम जुट्दैछ”, लामिछानेले भन्नुभयो । उहाँका अनुसार उपभोक्ताले परियोजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख जम्मा गर्नुपर्ने शर्त छ ।


पाँचखालका उपभोक्ताले परियोजनाको बैंक खातामा रु १८ हजारका दरले जम्मा गर्नुपर्ने नियम छ । परियोजना रु दुई अर्ब २१ करोडको लागतमा निर्माण सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष लामिछानेले बताउनुभयो । नेपाल सरकार, नगर विकास कोष, एशियाली विकास बैंक (एडिबी) र उपभोक्ताको लागतमा परियोजना सम्पन्न हुनेछ ।

खानेपानी आयोजनाको शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्तबीच गत भदौ १२ गते सो परियाजना सम्बन्धी सम्झौता भएको थियो । परियोजना तीन वर्षमा सक्ने लक्ष्य राखिएको छ । योजना शुरु गर्न बोलपत्र प्रक्रियामा रहेको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो । “कात्तिक महीनाभित्र बोलपत्र भई काम शुरु हुन्छ”, उहाँले भन्नुभयो ।

शर्तअनुसार रकम जम्मा नभएपछि रु १८ हजार दिन नसक्ने उपभोक्तालाई स्थानीय सहकारीमा ऋणी बनाइएको छ । सहकारीमा ऋणी बनाइएका उपभोक्ताबाट रु एक करोड ४३ लाख रकम जुटेको छ । आर्थिक अवस्था कमजोर भएका पाँचखाल क्षेत्रका करीब २० प्रतिशत परिवारलाई सहकारीमा ऋणी बनाइएको हो । उपभोक्तासँग लिएको ऋण सापटी भने आउँदो तीन महीनाभित्र फिर्ता गर्ने उपभोक्ता समितिको योजना छ ।

सहकारीले पाँचखाल नगरपालिका कार्यालयको जमानीमा स्थानीय खानेपानी उपभोक्तालाई चलनचल्तीभन्दा न्यून व्याजदरमा ऋण दिलाएको नगरप्रमुख महेश खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएका परिवारलाई ऋण दिलाएरै भए पनि योजनामा सहभागी गराउन नपा कार्यालय जमानी बसेर उपभोक्तालाई स्थानीय सहकारीमार्फत ऋण दिलाइएको हो ।” यदि उपभोक्ताले एक वर्षसम्ममा पनि सहकारीको ऋण तिर्न नसके नपा कार्यालयले तिरिदिने उहाँले बताउनुभयो ।

सहकारीमा सदस्य भएकालाई सोही सहकारीबाट र नभएकालाई सदस्य बनाएर ऋण दिलाइएको हो । इन्द्रावती नदी किनारमा इनार बनाई लिफ्टिङ प्रविधिद्वारा पाँचखाल नगरका विभिन्न बस्तीमा खानेपानी व्यवस्थापन गर्न लागिएको छ । परियोजनाबाट पाँचखाल क्षेत्रका करीब सात हजार उपभोक्ता लाभान्वित हुनेछन् । (रासस)

प्रतिक्रिया दिनुहोस्