Logo
Logo

उत्तर कोरियासँग वार्ताका लागि भियतनाममा ट्रम्पको प्रस्ताव


0
Shares

File Photo

टोकियो, २९ पुस (योनहाप) । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ–उनसँग आगामी फेब्रुअरी मध्यतिर दोस्रो शिखर बैठक गर्न प्रस्ताव गरेका छन् । उनले शिखर बैठक भियतनाममा हुनसक्ने बताएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
उत्तर कोरियाको आणविक निशस्त्रीकरण कार्यक्रमलाई लिएर विवाद उत्पन्न भइरहेको सन्दर्भमा दुबै मुलुकबीच दोस्रो शिखर बैठक हुने अनुमान गरिएको थियो । यसअघि ऐतिहासिक पहिलो शिखर बैठक गत वर्ष जुनमा सिंगापुरमा भएको थियो ।
उत्तर कोरियाले अमेरिकी प्रस्तावमाथि अध्ययन गरिरहेको र त्यसप्रति औपचारिक प्रतिक्रिया दिनेक्रममा रहेको जापानको अखबार योमुरी शिम्बुनले सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार प्रकाशन गरेको छ ।
प्योङयाङ र वासिङटनबीच पहिलो शिखर बैठकमा भएका सहमतिको कार्यान्वयनलाई लिएर दुबै मुलुकबीच घनीभूत छलफलमा छन् । उक्त सहमतिमा नेता कीमले उत्तर कोरियाको सुरक्षा प्रत्याभूति भए पूर्ण आणविक निःशस्त्रीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा नभएकामा उत्तर कोरियाली नेता कीमले निरन्तर असन्तुष्टी व्यक्त गरिरहनुभएको छ जबकी अमेरिकाले आणविक निःशस्त्रीकरण कार्यक्रमको पूर्ण पालना नहुँदासम्म प्रतिबन्धहरु फुकुवा नहुने अडान राखेको छ ।
ट्रम्प र कीमको दोस्रो शिखर बैठकले यी असमझदारी हटाउने र उत्तर कोरियामाथिका प्रतिबन्ध फुकुवा हुने अपेक्षा धेरैले गरेका छन् । दुबै नेताको शिखर बैठकका लागि दक्षिण पूर्वी एसियाका मुलुकहरुले तीव्र इच्छा व्यक्त गरेका छन् जसमा भियतनाम, इन्डोनेसिया र मंगोलिया रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्