काठमाडौं । नेपाल प्रहरीकी प्रशासनतर्फकी पहिलो महिला एआइजी भएकी पूजा सिंहले अकावश पाएकी छिन् । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले उनलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गरेका छन् ।
बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले आफ्नो अविछिन्न लामो सेवाद्वारा नागिरक र संगठनलाई गरेको योगदानको प्रशंसा गर्नुको साथै अवकाश पछिको व्यवासयिक एवम् सुखमय पारिवारिक जीवनको शुभकामना व्यक्त गरे । विभिन्न कालखण्डमा सफल महिला कमाण्डरको रूफमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै प्रहरी महानिरीक्षक सिंहले सेवानिवृत्त भएकी प्रहरी अतिरिक्त महानिरीक्षकबाट सेवानिवृत्त जीवन पश्चातपनि रचनात्मक सहयोगको अपेक्षा राखेको र आगामी दिनमा संगठनको श्रीवृद्धिका लागि आवश्यक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सेवानिवृत्त हुनु भएकी प्रहरी अतिरिक्त महानिरीक्षक सिंहले आफ्नो सेवा अवधिमा गरेका अनुभव समेटी आफ्नो मन्तव्य व्यक्त गरेकी थिइन् । सेवा निवृत्त हुने क्रममा एक पटकको प्रहरी सधै प्रहरी रहने भएकोले बर्दियुक्त जीवनबाट मात्र अवकास हुन लागेको बताइन् । प्रहरी सेवामा रहने क्रममा संगठनका सदस्यबाट प्राप्त सद्भाव प्रति सधै ऋणी रहने बताउँदै उनले यो अवस्थासम्म आइपुग्ने क्रममा नेतृत्व विकासमा मार्ग दर्शन गर्ने अग्रज प्रहरीप्रति सम्मान व्यक्त गर्दे भनिन् “नेपाल प्रहरीको प्रशासनतर्फको पहिलो महिला प्रहरी अत्तिरिक्त महानिरीक्षक हुने क्रममा तालुक गृह मन्त्रालय र प्रहरी महानिरीक्षकको भूमिकाप्रति आभार एवम् कृतज्ञता व्यक्त गर्न चाहन्छु ।”
सेवानिवृत्त हुनु भएकी प्रहरी अतिरिक्त महानिरीक्षक सिंह वि.सं. २०४९ चैत ११ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेकी थिइन् । प्रहरी अतिरिक्त महानिरीक्षक प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्षीय उमेर हदको कारण फागुन ७ गते अवकास हुन लागेकी हुन् ।
उनको अवकाशसँगै प्रहरीमा एआइजीका पाँच दरबन्दी रिक्त भएको छ । बढुवाका आकांक्षी डिआइजीहरुबीचको टकरावको कारण बढुवा प्रक्रिया सुरु हुन सकेको छैन ।