Logo
Logo

प्रदेश १ मा प्रहरी अस्पताल सञ्चालनमा


882
Shares


विराटनगर । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले मोरङ बेलबारी नगरपालिका–३ स्थित पुरानो ईलाका प्रहरी कार्यालयको भवनमा संचालित १ नम्बर प्रदेश प्रहरी अस्पतालको बुधबार उद्घाटन गरेका छन् ।


अस्पताल उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले १ नम्बर प्रदेश प्रहरी अस्पतालको सुभारम्भले यस प्रदेशमा रहेका पूर्व प्रहरी कर्मचारी, अमर÷अशक्त प्रहरी कर्मचारी तथा बहालवाला प्रहरी कर्मचारीका साथै आश्रित परिवार समेतको स्वास्थ्य सेवामा पहुँच पुग्ने बताए । साथै प्रहरी अस्पतालको निर्माण र सेवा सुभारम्भले स्थानीयवासीलेसमेत सेवा पाउने हुँदा सबै किसिमका बिरामीहरुलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।


उक्त अवसरमा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंका मेडिकल डाईरेक्टर प्राबिधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले सीमित श्रोत र साधनकाबीच प्रदेश प्रहरी अस्पतालको अवधारणा ल्याई सेवा सुभारम्भ गरिएको बताउँदै अबका दिनमा सेवा संचालनमा हरेक क्षेत्रको सहयोग अपरिहार्य रहेको बताइन् ।


कार्यक्रममा बेलवारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईले नगर क्षेत्रमा प्रहरी अस्पतालको निर्माणले नगरवासीहरु उत्साहित रहेको बताउँदै हरेक नागरिकको स्वास्थ्य सेवामा प्रहरी अस्पतालको अहम् भूमिका रहने र अस्पतालको स्तरोन्नति लगायतका क्षेत्रमा सहयोग र समन्वयको लागि नगरपालिका सदैव तत्पर रहेको उल्लेख गरे ।


उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले स्वागत मन्तब्य व्यक्त गर्दै अस्पतालबाट प्रभावकारी स्वास्थ्य सेवा प्रदान हुनेमा बिश्वस्त रहेको बताए । उक्त अस्पतालका प्रहरी नायव उपरीक्षक डा. सरोज सिंहले अस्पतालको सेवा सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्दै तत्काल ३ जना बिशेषज्ञ चिकित्सकसहित १० जनाको प्राबिधिक टोलीले ओपिडि तथा ईमरजेन्सी लगायतका सेवा प्रदान गर्ने जानकारी दिए ।

त्यस्तै, प्रहरी महानिरीक्षक सिंहले १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र गोठगाउँ मोरङको बुधबार निरीक्षण भ्रमण गरेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिका–८ गोठगाउँमा अवस्थित उक्त तालिम केन्द्रको भ्रमणको क्रममा उनले तालिम केन्द्रको आवास, मेश तथा भौतिक पुर्वाधारको अवलोकन गरेका हुन् । निरीक्षण तथा अवलोकन पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । उक्त अवसरमा तालिम केन्द्रका सह–समादेशक प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले तालिम केन्द्रको बारेमा प्रस्तुतीकरण गरेका थिए ।
यसैगरी प्रहरी महानिरीक्षक सिंहले आसरा सुधार केन्द्र पानवारी धरानकोसमेत बुधबार निरीक्षण भ्रमण गरेका छन् । भ्रमणको क्रममा उनले केन्द्रको भौतिक संरचना, मेश, उपचाररत सदस्यहरुको आवास र सरसफाईको अवस्थाको समेत निरीक्षण गरे । निरीक्षणको क्रममा उपचाररत सदस्यहरुलाई लागूऔषधबाट मुक्त हुन मनैबाट प्रयास गर्नुपर्ने लगायत उत्प्रेरणात्मक सन्देश दिए ।

प्रतिक्रिया दिनुहोस्