Logo
Logo

विमानस्थलमा डरलाग्दो तस्करी, भन्सार कर्मचारीहरु छानबिनमा


2.6k
Shares

काठमाडौं । भन्सार कर्मचारीकै मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो तस्करी हुँदै आएको खुलेको छ । प्रयोग गरिएका पुराना सामान विदेशबाट ल्याउँदा त्यसभित्र नयाँ सामानको तस्करी हुने गरेको आशंकामा राजस्व अनुसन्धान विभागले छानबिन थालेको छ । विभागले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छुटेका आठवटा गाडी नियन्त्रणमा लिएर छानबिन थालेको हो ।


विदेशबाट प्रयोग भएका कपडालगायत सामान स्वेदश ल्याउँदा भन्सार तिर्नु नपर्ने प्रावधान छ । त्यस्ता सामानभित्र महँगा नयाँ सामान लुकाएर भन्सार छली हुने गरेको सूचनाका आधारमा विभागले मंगलबार भन्सार पास भएका सामान राखिएका आठवटा गाडी नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धानमा पुराना सामानभित्र नयाँ सामान लुकाइएको भेटिएको छ । केहीमा नयाँ कपडा, जुत्ता तथा विद्युतीय सामान भेटिएका हुन् ।


राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटाले विमानस्थल भन्सार कार्यालयबाट छुटेका केही गाडीमाथि अनुसन्धान चलिरहेको पुष्टि गरे । केही गाडीलाई धरौटीमा छाडिएको र केही अझै विभागकै नियन्त्रणमा छन् । ब्रान्डेड कपडा तथा विद्युतीय सामान विदेशबाट यसरी तस्करी हुने गरेको हो । यसमा भन्सार अधिकारीको समेत शंकास्पद भूमिका देखिएको राजस्व अनुसन्धान स्रोत बताउँछ ।


पछिल्लो समय लक्ष्यअनुसार भन्सार राजस्व न्यून मात्र उठेपछि यसमा तस्करी र कर्मचारीको मिलेमतोको समेत आरोप लाग्दै आएको छ । राजस्व अनुसन्धान विभागले पछिल्लो समय भन्सारमाथि निगरानी बढाएर भन्सार छलीका गाडीहरू धमाधम नियन्त्रणमा लिएर छानबिन थालेको छ । जसकारण भन्सार कार्यालयहरुका कर्मचारीहरु त्रसित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्