काठमाडौं, ६ कात्तिक ।
अपराध गरेर लुक्न विदेश जाने अभियुक्तविरुद्ध नेपाल प्रहरीले महत्वपूर्ण सफलता पाएको छ । १९ वर्षअघि एक किशोरीमाथि सामूहिक बलात्कारपछि रुखमा झुन्डाएर हत्या गर्ने अभियुक्तलाई नेपाल प्रहरीले अमेरिकाबाट ल्याएको छ । झापा स्थायी घर भएका ४२ वर्षिय लिलाराज गौतमलाई नेपाल प्रहरीले अमेरिकाबाट पक्राउ गरी नेपाल ल्याएको हो ।
अन्तराष्ट्रिय अपराध प्रहरी संगठन(इन्टरपोल) र अमेरिकी प्रहरीको सहयोगमा उनलाई अमेरिकाबाट डिपोर्ट गराई नेपाल ल्याइएको हो । गौतमलाई इन्टरपोल शाखाका प्रहरीले बुधबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नियन्त्रणमा लिईएको छ ।
प्रहरीा अनुसार गौतमसहित मनोज खड्का र सीताराम बस्नेत मिलेर २९ असोज २०५७ मा झापा चन्द्रगढी– ३ की सन्ध्या राजबंशीलाई सामूहिक बलात्कारपछि रुखमा झुन्डाएर हत्या गरेका थिए । पोल खुल्ने डरले युवतीले आत्महत्या गरेको देखाउन उनीहरुले झुन्डाएर हत्या गरेका थिए ।
त्यसयता फरार रहेका गौतम अमेरिकामा रहेको खुलेपछि नेपाल प्रहरीले उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी गराएको थियो । सोहीअनुसार १३ फेब्रुअरी २०१८ मा उनलाई अमेरिकाको होमल्याण्ड सेक्युरिटीले पक्राउ गरेको थियो । करिब दुई वर्ष लामो प्रयासपछि उनलाई नेपाल ल्याइएको नेपाल प्रहरीले जनाएको छ । अमेरिकाबाट अरुलाई पनि नेपाल ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।