काठमाडौं, ६ कात्तिक ।
प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरूको १८औं सम्मेलनमा भाग लिन जानु अघि आज प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सत्य निरुपण तथा मेलमिलाप आयोगसम्मको नियुक्तिबारे छलफल भएको हो ।
अपराह्न बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका शीर्ष नेताबीच छलफल भएको हो।
छलफलमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रमेश लेखक तथा मिनेन्द्र रिजाललगायतका नेता सहभागी थिए।
अख्तियारमा दुई आयुक्तको पद रिक्त छ । जसमा कांग्रेसले एकजनाको दाबी गरेको छ । त्यस्तै लामो समयदेखि चर्चामा रहेको सत्य निरुपण तथा मेलमिलाप आयोगको नियुक्तिबारे समेत छलफल भएको छ ।